प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बिहान साढे ११ बजे जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन् । स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा विशेष छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ ।
बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, आन्तरिक बजार व्यवस्थापन सुधार गर्ने, आयात प्रतिस्थापन गर्दै आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने बताइएको छ ।
त्यसैगरी, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, कर तथा भन्सार नीति, नेपाली उत्पादनको ब्रान्डिङ, बजार संरक्षण र सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनेलगायत विषयमा समेत संघका प्रतिनिधिले आफ्ना सुझाव राख्ने अपेक्षा गरिएको छ ।छलफलबाट जुत्ता–चप्पल उद्योगको दीर्घकालीन विकास, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको उपभोग बढाउन आवश्यक नीतिगत कदमबारे ठोस निष्कर्ष निकाल्ने सरकारको तयारी छ ।


