Banijya News

निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाए सेवा सुविधा रोक्का हुने

1
1.1K Shares

सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको सेवा सुविधा रोक्का हुने बताइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) को व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ

यस वर्ष संघीय निजामती तर्फका कर्मचारीले राष्ट्रिय किताबखानामा र प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले सम्बन्धित प्रदेश मुख्यमन्त्री कार्यालय वा प्रदेश किताबखानामा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय किताबखानाले यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सार्वजनिक सूचना जारी गर्नुका साथै सात वटै प्रदेशका सम्बद्ध कर्मचारीहरूलाई जुम बैठक मार्फत अभिमुखीकरण समेत गराइसकेको छ ।

सम्पत्ति विवरण तोकिएको ६० दिनभित्र नबुझाउने कर्मचारीलाई १० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । यसका अतिरिक्त, सेवाबाट अलग हुँदा पाउने निवृत्तिभरण, उपदान, सञ्चित बिदाबापतको रकम र औषधि उपचार सुविधा लगायतका सबै प्रकारका सुविधाहरू रोक्का गरिनेछ ।

कडा कानुनी प्रावधानका कारण यस वर्ष सम्पत्ति विवरण नबुझाउनेको संख्यामा उल्लेखनीय कमी आउने राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बताए । गत वर्ष ३,१९६ जना कर्मचारीले तोकिएको म्यादभित्र सम्पत्ति विवरण बुझाएका थिएनन् । सेवा सुविधा रोक्का भएपछि विगत ६ महिनाभित्र मात्रै २५० जना कर्मचारीले जरिवानाबापत ३७ लाख ५५ हजार रुपैयाँ दाखिला गरी रोक्का फुकुवा गराएको किताबखानाले जनाएको छ ।

राष्ट्रिय किताबखानाको तथ्यांकअनुसार, यस वर्ष संघीय सेवातर्फ ७१,५०८ जना र सात वटै प्रदेश तथा स्थानीय सेवातर्फ १९,६२६ जना गरी कुल ९१,१३४ जना कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्ने अनुमान गरिएको छ ।

हप्तामा दुई दिन सार्वजनिक बिदा हुने प्रचलन र ६० दिनको अनिवार्य समयसीमाका कारण कर्मचारीहरूलाई पर्न सक्ने कठिनाइलाई ध्यानमा राख्दै विशेष व्यवस्था मिलाइएको छ । महानिर्देशक पोखरेलका अनुसार, साउन १ गतेदेखि ६० दिनसम्म सार्वजनिक बिदाका दिनमा समेत बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सम्पत्ति विवरण दर्ता गर्ने र बुझ्‌ने व्यवस्था मिलाइएको छ ।

सम्पत्ति विवरण समयमै बुझाएर कानुनको परिपालना गर्न र असल आचरणयुक्त राष्ट्रसेवकको पहिचान बनाउन महानिर्देशक पोखरेलले सम्पूर्ण कर्मचारीहरूलाई आह्वान गरेका छन् । यस अभियानको सुरुवात गर्दै पोखरेल आफैँले दर्ता नम्बर १ मा आफ्‌नो सम्पत्ति विवरण दर्ता गराएका छन् ।

1

Scroll to Top