आर्थिक वर्ष २०८२/८३ मा जिल्ला भन्सार कार्यालय गौरले निर्धारित लक्ष्यभन्दा ४१.१४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा कुल ४६ करोड ९९ लाख राजस्व उठाउन सफल भएको हो । यस वर्ष यहाँको वार्षिक लक्ष्य रु. ३३ करोड २९ लाख निर्धारण गरिएको थियो ।
जिल्ला भन्सार कार्यालय गौरका प्रमुख विकासकुमार रजकका अनुसार, कार्यालयले लक्ष्यभन्दा करिब १३ करोड ७० लाख बढी राजस्व संकलन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको छ । लक्ष्य भन्दा बढी संकलित राजस्व ४१.१४ प्रतिशतले बढेको हो । प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि तथा कार्यालयको सक्रिय अनुगमनका कारण लक्ष्यभन्दा बढी राजस्व उठेको हो ।
गौर भन्सारले राजस्व संकलनसँगै चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि प्रभावकारी उपलब्धि हासिल गरेको छ । कार्यालयका अनुसार, आर्थिक वर्षभरि भन्सार गस्ती टोलीले रु ११ लाख २६ हजार ६९४ बराबरका २२ वटा मुद्दा दर्ता गरेको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले रु ४ करोड ५ लाख १९ हजार ११० बराबरका ४८१ वटा तथा नेपाल प्रहरीले रु ५ करोड ५५ लाख १८ हजार १०६ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको कार्यालयले जनाएको छ ।
चोरी पैठारीका अभियोगमा जफत गरिएका मालवस्तु तथा सवारी साधनको व्यवस्थापनतर्फ पनि कार्यालयले उल्लेखनीय प्रगति गरेको छ । कार्यालयले रु १ करोड ६९ हजार ६७४ बराबरका मालवस्तु तथा रु १ करोड ३३ लाख १४ हजार ९७५ बराबरका सवारी साधन लिलाम बिक्री गरी थप राजस्व संकलन गरेको जनाएको छ ।
भन्सार प्रशासनले राजस्व चुहावट नियन्त्रण, सीमाक्षेत्रमा निगरानी कडा बनाउने, चोरी निकासी तथा पैठारी नियन्त्रणमा सुरक्षा निकायसँगको समन्वय प्रभावकारी बनाउने तथा सेवा प्रवाह सुधारका कारण यो उपलब्धि हासिल भएको जनाएको छ ।


