कामना सेवा विकास बैंकले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८२ र८३ को चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने यो पहिलो बैंक बनेको छ ।
बैंकले गत आवको चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण शनिबार सार्वजनिक गरेको हो । जसअनुसार बैंकले ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१% ले बढी हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आव अन्त्यमा बैंकको ईपीएस १९.०८ रुपैयाँ रहेकामा हाल बढेर २२.७५ रुपैयाँ पुगेको छ ।
आव २०८२/८३ को अन्त्यमा बैंकले नाफा गरेको ८९ करोड ४२ लाखमध्ये ५६ करोड ७९ लाख रूपैयाँ सेयरधनीहरूलाई बाँड्न मिल्ने देखिन्छ । अघिल्लो आवसम्मको विवतरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेर बाँकी रहेको रकम समेत जोड्दा बैंकको कुल सञ्चित नाफा ६० करोड ११ लाख रूपैयाँ पुगेको छ । यो रिटेन्ड अर्निङले बैंकले सेयरधनीलाई १५.१६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
बैंकिङ क्षेत्रमा बढ्दो गुणस्तरीय जनशक्तिको अभाव, सञ्चालन खर्चमा वृद्धि, निष्क्रिय कर्जा र बढ्दो गैरबैंकिङ सम्पत्ति, मुलुकको सुस्त आर्थिक गतिविधि तथा कर्जाको मागमा कमी आए पनि बैंकले उत्साहजनक लाभांश क्षमतासहितको वित्तीय विवरण प्रकाशन गरेको हो ।
कामना विकास बैंकले गत आव २०८२/८३ मा २ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले वर्षभर अघिल्लो आवको भन्दा कम ब्याज आम्दानी गरे तापनि ब्याज खर्चमा भारी गिरावट आएको छ ।
बैंकले एक वर्षमा ५ अर्ब १९ करोड रूपैयाँ ब्याज आम्दानी गरी २ अर्ब ७८ करोड रूपैयाँ ब्याज खर्च गरेको हो । अघिल्लो आव खुद ब्याज आम्दानीमा २ अर्ब ३२ करोड रूपैयाँ रहेकामा गत आवमा यस्तो आम्दानी १० करोड रूपैयाँले बढेको हो । त्यस्तै, बैंकको ब्याजदर अन्तर ४.२७% बाट घटेर ३.९८ प्रतिशतमा सीमित भए पनि खुद ब्याज आम्दानी बढेको हो ।
यसबीचमा सञ्चालन खर्च केही बढे पनि बढेको सञ्चालन आयले बैंकलाई सबल स्थितिमा राखेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा यस वर्ष १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस बैंकको निष्क्रिय कर्जा सामान्य दरले बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्क्रिय कर्जा अनुपात ३.४९ प्रतिशत रहेकामा अहिले ३.७७ प्रतिशत पुगेको छ । तर, पर्याप्त नोक्सानी व्यवस्थाका कारण खुद निष्क्रिय कर्जा भने ०.५५ प्रतिशतमात्र छ ।
असार मसान्तका मुख्य वित्तीय अनुपातहरू हेर्ने हो भने पुँजी कोष अनुपात १२.५८% बाट सुधारिएर १४.१६% पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.१९ प्रतिशतबाट बढेर ११.६६ प्रतिशतको सबल स्थितिमा छ । बैंकको कोषको लागत ५.०९% बाट घटेर ३.६९% पुग्दा आधार दर ७.०७% बाट घटेर ५.५३% पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.१२ रुपैयाँबाट बढेर १७१.०१ रुपैयाँ पुगेको छ । वित्तीय विवरण प्रकाशन हुँदा दोस्रो बजारमा बैंकको मूल्य आम्दानी अनुपात अर्थात् पीई रेसियो २०.८४ गुणा र सीडी रेसियो ८६.३४ प्रतिशत रहेको छ ।
यी तथ्यांकले बैंकका लागि चालू आर्थिक वर्ष थप उत्साहजनक बन्ने अवसर खुलेको संकेत गर्दछ । पर्याप्त पुँजी र तरलता तथा न्यून ब्याजदर रहेको परिस्थितिमा बैंकका लागि कर्जा विस्तारको सहज बाटो देखिन्छ ।
गत आवमा पनि बैंकले कुल निक्षेप अघिल्लो वर्षको अन्त्यको ६२ अर्ब ८३ करोड रुपैयाँबाट बढाएर ६६ अर्ब १७ करोड रुपैयाँ पुर्याएको थियो । यसैगरी कर्जा लगानी पनि अघिल्लो वर्षको ५० अर्ब ७ करोड रुपैयाँबाट बढेर ५४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी अघिल्लो वर्ष ३ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा बोनस सेयर र ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन पछि ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ । यता, नेटवर्थ १७१.०१ रूपैयाँ र ईपीएस २२.७५ रूपैयाँ रहेको बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४७४ रूपैयाँमा कारोबार भइरहेको छ ।
यसरी अघिल्लो वर्षको तुलनामा बैंकले आफ्नो पुँजी कोषमा राम्रो सुधार गरेको छ, जसले बैंकलाई थप कर्जा विस्तार गर्ने क्षमता दिएको छ । निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ भने कोषको लागत र आधार दर घट्नु बैंकका लागि सुखद पक्ष मान्न सकिन्छ ।


