Banijya News

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ७४% ले बढ्यो, लाभांश क्षमता कति ?

1
1.0K Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, संस्थाको खुद नाफा १९ करोड ७ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १० करोड ९८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस आधारमा एक वर्षमै खुद नाफा ८ करोड ८ लाख ८२ हजार रुपैयाँ अर्थात् ७३.६३ प्रतिशतले बढेको देखिन्छ । चौथो त्रैमासमा मात्रै संस्थाले ७ करोड ७० लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा यस्तो नाफा ३ करोड ९२ लाख रुपैयाँ थियो ।

संस्थाको यस विवरणअनुसार, लाभांश वितरण क्षमता पनि उल्लेख्य रूपमा मजबुत बनेको छ । असार मसान्तसम्म फर्स्ट माइक्रोफाइनान्ससँग १३ करोड ६१ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा सञ्चित छ । अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ३ लाख ४० हजार रुपैयाँ थियो । यस अवधिमा वितरणयोग्य मुनाफा ५०.७६ प्रतिशतले वृद्धि भएको छ । संस्थाको वार्षिक वितरणयोग्य मुनाफा प्रतिसेयर १०.१३ रुपैयाँ पुगेको छ । यस आधारमा संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई करसहित करिब १०.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ ।

सञ्चालन मुनाफा ७३ प्रतिशतले वृद्धि

गत आवमा संस्थाको सञ्चालन मुनाफा ७३.०५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २७ करोड २७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसञ्चालन मुनाफा १५ करोड ७६ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कर्जासम्बन्धी इम्पेयरमेन्ट व्यवस्थाबाट ११ करोड ८६ लाख रुपैयाँभन्दा बढी रकम रिभर्सल हुँदा सञ्चालन आम्दानी र नाफामा बलियो टेवा पुगेको देखिन्छ । अघिल्लो वर्ष यही शीर्षकमा ९४ लाख ३६ हजार रुपैयाँ मात्र सकारात्मक प्रभाव परेको थियो ।

उता, संस्थाको सञ्चालन खर्च भने ९.६२ प्रतिशतले बढेर ७ करोड ५२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन खर्च बढे पनि आम्दानी र इम्पेयरमेन्ट रिभर्सलबाट प्राप्त लाभ उच्च भएकाले नाफामा उल्लेख्य सुधार देखिएको हो ।

खुद ब्याज आम्दानीमा वृद्धि

व्यवसायको आकार घटे पनि कोषको लागत नियन्त्रण हुँदा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । समीक्षा अवधिमा ब्याज आम्दानी ४० करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५५ करोड ४ लाख रुपैयाँ थियो । तर, संस्थाको ब्याज खर्च ३३ करोड ८७ लाख ९२ हजार रुपैयाँबाट ४७.६९ प्रतिशतले घटेर १७ करोड ७२ लाख ११ हजार रुपैयाँमा झरेको छ । ब्याज खर्चमा गिरावट आउँदा खुद ब्याज आम्दानी उल्लेख्य बढेको हो ।

अघिल्लो वर्ष २१ करोड १६ लाख ८१ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर २२ करोड ७४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । ब्याज तथा कमिसनसहितको खुद आम्दानी पनि ५.७९ प्रतिशतले बढेर २२ करोड ९३ लाख ७४ हजार रुपैयाँ कायम भएको छ ।

प्रतिसेयर आम्दानीमा वृद्धि

खुद नाफामा भएको उच्च वृद्धिसँगै संस्थाको प्रतिसेयर आम्दानी उच्च दरले बढेको छ । अघिल्लो वर्ष ८.१७ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी ७३.५६ प्रतिशतले बढेर १४.१८ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर नेटवर्थ १३६.२६ रुपैयाँ छ । वित्तीय विवरण प्रकाशित हुँदाको बजार मूल्यका आधारमा मूल्य–आम्दानी अनुपात अर्थात् पीई रेसियो ३०.९५ गुणा छ । त्यस्तै, संस्थाको रिटर्न अन इक्विटी अर्थात् आरओई करिब १०.३३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो करिब ६.३० प्रतिशत थियो । साथै, रिटर्न अन एसेट अर्थात् आरओए करिब १.६३ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ ।

समग्रमा, फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८२/८३ मा व्यवसायको आकारभन्दा नाफाको गुणस्तर, लागत नियन्त्रण, कर्जा असुली, पुँजी पर्याप्तता र सेयरधनी प्रतिफलमा केन्द्रित रणनीति अपनाएको देखिन्छ । खराब कर्जा घट्नु, ब्याज खर्चमा कमी आउनु, आरओई र आरओएमा उल्लेख्य सुधार आउनु तथा लाभांश क्षमता दोहोरो अंकमा पुग्नुले संस्थाको वित्तीय उपलब्धि सकारात्मक रहेको मान्न सकिन्छ ।

1

Scroll to Top