Banijya News

घरजग्गा कारोबार बढ्दा असारमा उठ्यो ११ अर्बबढी राजस्व, अन्य महिनाको अवस्था कस्तो ?

1
1.0K Shares

गत आर्थिक वर्ष २०८२/८३ को अन्ततिर घरजग्गा कारोबारमा वृद्धि भएको देखिएको छ । यसले गर्दा आव २०८२/८३ को असार महिनामा सबैभन्दा बढी राजस्व संकलन भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, असार महिनामा मात्रै घरजग्गा कारोबारबाट रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व संकलन भएको तथ्यांक छ । गत आवमा सबैभन्दा बढी राजस्व नै असार महिनामा उठेको हो । विभागको विवरणअनुसार, गत वैशाखमा छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व संकलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व संकलन हो ।

विभागका अनुसार २०८२ साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व उठेको थियो । भदौमा केही घटेर रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरमात्रै प्राप्त भएको थियो । यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको रकम सरकारको खातामा जम्मा भएको थियो ।

विभागका अनुसार, मङ्सिरमा रु चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ राजस्व उठेको थियो । त्यस्तै, पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार २२२, माघमा रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रकम घरजग्गा कारोबारबाट प्राप्त भएको थियो ।

त्यसैगरी, गत चैतमा रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबरको रकम संकलन भएको विवरणमा उल्लेख छ । असार महिनामा कारोबारमा उल्लेख्य सुधार भएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको हो ।

चालु आवमा साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि असारमा कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ । सोही कारण गत असारमा रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व संकलन भएको विभागको विवरणमा समावेश छ । कोरोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व संकलन भएको तथ्यांक छ ।

1

Scroll to Top