चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत रु. एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण पाँच जना मानिसको मृत्यु भएको र उनीहरूलाई रु. ५० लाख राहत प्रदान गरिएको छ । त्यस्तै, सामान्य क्षति भएका मानिसको उपचारका लागि रु एक लाख ३४ हजार १७६ र गम्भीर घाइतेको उपचारका लागि रु. २९ लाख ४२ हजार ४८१ राहत प्रदान गरिएको थियो ।
यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत रु. २३ लाख ६० हजार २००, घरगोठ क्षतिबापत रु. तीन लाख ३९ हजार ६५० राहत वितरण गरिएको थियो । त्यस्तै, भण्डारण गरेको अन्न क्षतिबापत रु. ७० हजार, अन्न बाली क्षतिबापत रु. २१ लाख आठ हजार ३०० र कुखुरा क्षतितर्फ रु. ४३ हजार ५०० राहत वितरण गरिएको बताइएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पुर्याएको क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ ।


