जेनजी आन्दोलनका क्रममा प्रभावित शहीद परिवार तथा घाइतेहरूलाई लक्षित गरी सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज छिटो कार्यान्वयन गर्ने निर्णय भएको छ । सरकारका सचिवहरूको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत उक्त प्याकेजलाई प्रभावकारी रूपमा लागू गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को गत असार १८ गतेको बैठकले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि एकीकृत सहायता प्याकेजको व्यवस्था गर्ने निर्णय गरेको थियो । सरकारले गरेको सोही निर्णयलाई सचिवस्तरीय बैठकले प्राथमिकताका साथ अघि बढाउँदै सम्बन्धित निकायमार्फत शीघ्र कार्यान्वयन सुनिश्चित गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकको निर्णयमा मन्त्रिपरिषद्ले २०८३ साल असार १८ गते स्वीकृत गरेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि तयार गरिएको एकीकृत प्याकेज तत्काल कार्यान्वयन गराउने उल्लेख गरिएको छ ।


