Banijya News

सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा, २१ अर्ब बढी भुक्तानी

1
1.0K Shares

सामाजिक सुरक्षा कोषमा गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ ।

उक्त रकम सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट संकलन भएको कोषले जनाएको छ । कोषका अनुसार हालसम्म २३ हजार ४९० रोजगारदाता र ३० लाख ४३ हजार २०० योगदानकर्ता सूचीकृत भएका छन् ।

यस अवधिमा विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत रु २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबरको दाबी भुक्तानी भएको छ । दाबी भुक्तानीमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा शीर्षकमा रु तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ वितरण भएको छ ।

त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा शीर्षकमा रु ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा शीर्षकमा रु ३८ करोड चार लाख २५ हजार २१६ तथा अवकाश सुरक्षा शीर्षकमा रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ वितरण गरिएको कोषले जनाएको छ ।

कोषका अनुसार, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेटिएपछि योगदान रकम उल्लेखनीय रूपमा बढेको छ । साथै पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षा कार्यक्रम विस्तार हुँदै जाँदा कोषप्रति आम नागरिकको आकर्षण र विश्वास पनि बढ्दै गएको जनाएको छ ।

कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको उल्लेख गर्दै यसबाट योगदानकर्ता, अर्थतन्त्र र सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा बहुआयामिक लाभ पुग्ने अपेक्षा गरिएको जनाएको छ ।

1

Scroll to Top