Banijya News

अन्नपूर्ण क्षेत्रमा पुगे एक सय ६९ देशका पर्यटक, कुन देशको कति ?

1
1.0K Shares

अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानहरु पछिल्लो समयमा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । त्यसैले, सो क्षेत्रमा पुग्ने पर्यटकहरुको संख्या बढ्दै गएको देखिन्छ ।

गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएको पाइएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ पर्यटक ती क्षेत्रमा पुगेका छन् ।

अन्नपूर्ण क्षेत्रमा पुग्ने सबैभन्दा बढी पर्यटक भारतीय रहेका छन् । गत आवमा तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ पुगेका छन् । त्यस्तै, चिनियाँ १२ हजार पाँच सय ३९ र अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् ।

यस्तै, बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बंगलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको विवरण छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार, आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक त्यहाँ पुगेका छन् । उनका अनुसार, आव २०८१/८२ मा दुई लाख ७८ हजार एक सय १३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका दिए ।
पर्यटक आगमनमा गत आवमा नयाँ अभिलेख कायम भएको उनको भनाइ छ । गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको संख्या झण्डै तीन सय प्रतिशतले वृद्धि भएको तथ्यांक छ । भारतीय पर्यटक यति ठूलो संख्यामा सो क्षेत्रमा पुगेको यो पहिलो पटक हो ।

भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवद्र्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेको बताइएको छ । खासगरी, गर्मी याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् ।

वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको थियो । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ जाने गरेको प्रमुख डा. कडरिया बताउँछन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्व प्रसिद्ध गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

1

Scroll to Top