Banijya News

वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

1
1.0K Shares

पछिल्लो समय वित्तीय ठगीका घटना निरन्तर बढ्दै गएको देखिन्छ । विभिन्न माध्यमबाट हुने वित्तीय अपराधका घटना बढ्दै गएकाले यसप्रति नेपाल राष्ट्र बैंकले चासो देखाएको छ ।

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक सूचना जारी गर्दै स्क्यामको बारेमा सचेत रहन आग्रह गरेको छ । ‘शंका लागेमा वित्तीय कारोबार गर्न रोकियौँ’, राष्ट्र बैंकले भनेको छ, ‘आधिकारिकता जाँचौँ, आवश्यक परेमा साइबर ब्युरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराऔँ ।’

स्क्याम भनेको नजान्नेलाई झुक्याएर, जान्नेलाई लोभ्याएर वा थर्काएर कसैको पैसा, सम्पत्ति, सामान वा व्यक्तिगत जानकारी लिने गैरकानुनी काम हो । स्क्यामरले विभिन्न माध्यमहरू सामाजिक सञ्जाल, इमेल, एसएमएस, वेबसाइट, फोन वा स्वयम् उपस्थित भएर सम्पर्क स्थापित गरी विभिन्न तरिकाबाट ठगी गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समयमा विभिन्न चिट्ठा, उपहार, सम्पत्ति वा रकम हस्तान्तरण गरेर ठगी गर्ने गरेका छन् । यस बहानामा अग्रिम कर, शुल्क वा पैसा, खाता नम्बर वा अन्य वित्तीय विवरण माग गर्ने गरेको पाइन्छ । यस्तै, अपत्यारिलो लगानी, धेरै नाफा र जोखिम छैन भनी झुटो आश्वासन दिएर पैसा हाल्न लगाउने, ठुलो रकम भएपछि हराउने गरेका घटना यत्रतत्र छन् ।

यस्तै, नक्कली जागिरको प्रस्ताव दिएर दर्ता शुल्क वा अन्य रकम लिने, आपराधिक रकम ओसारपसार गर्न लगाउने, विभिन्न वस्तु तथा सेवामा लोभ्याउने स्किम देखाएर पैसा उठाउने, कारोबार गरेको संस्थाभन्दा फरक व्यक्तिको खातामा पैसा पठाउन लगाउने, सामाजिक सञ्जालमा जोडिएर प्रेम सम्बन्धको बहानामा पैसा माग्ने वा वित्तीय सूचना चोर्ने गरेका छन् ।

यसबाहेक, विभिन्न निकायका कर्मचारी, साथीभाइ, आफन्त वा चिनेको व्यक्ति हुँ भन्दै तुरुन्तै गलत खातामा पेमेन्ट गर्न लगाउने वा सूचना चोरी गर्ने आदि गर्दछन् । यस्तै, पसलमा नक्कली क्यूआर राखिदिने, मोबाइलमा पेमेन्ट नै नगरी पेमेन्ट भएको मेसेज देखाउने, विभिन्न नियमनकारी निकायको जस्तो भेषमा तुरुन्तै त्यस्तो निकायभन्दा फरक खातामा पैसा पठाउन लगाउने गरेको पाइन्छ ।

आफूलाई शंका लाग्ने यस्ता कुनै घटनाहरु भएमा आधिकारिकता जाँच्न केन्द्रीय बैंकले बताएको छ । साथै, आवश्यक परेमा साइबर ब्युरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

1

Scroll to Top