एक महिनाभित्र विभिन्न ६ कम्पनीका सेयरको लकइन अवधि सकिने भएको छ । सेयरको लकइन अवधि सकिएपछि बजार मूल्यमै सेयर किनबेच गर्न सकिन्छ ।
लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप सेयर रजिस्ट्रार कम्पनीले सूचना जारी गरेका हुन् । संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ ।
आज बुधबारदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय र कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो ।यसैगरी, सोलु हाइड्रोपावरले सामूहिक लगानी कोषलाई छुट्याएको ५ लाख कित्ता सेयरको लकइन अवधि साउन ११ गते सकिँदैछ ।
त्यस्तै, भुजुङ हाइड्रोपावरको सामूहिक लगानी कोषलाई बाँडिएको ५० हजार कित्ता सेयरमा लकइन अवधि साउन २६ गते सकिँदैछ । अपर लोहोरेखोलाको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरको साउन २८ गते लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिन लागेको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लकइन अवधि साउन ३० गते सकिने भएको छ । संस्थापक तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिएसँगै सो कम्पनीको ठूलो मात्रामा सेयर संख्या फुकुवा हुने भएको छ ।
साथै, होटल फरेस्ट इनको सामूहिक लगानी कोषलाई छुट्याइएको २ लाख कित्ता सेयरको लकइन अवधि भदौ ३ गते सकिने भएको छ । यी सेयरको लकइन अवधि समाप्त भएसँगै दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।


