Banijya News

सुनचाँदी व्यवसाय प्रविधिमैत्री बन्दै, वेबसाइट र मोबाइल एप सार्वजनिक

1
1.1K Shares

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा रहेको महासंघको सचिवालय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि अग्रवालले सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित तथा पारदर्शी बनाउने महासंघको प्रयास समयानुकूल, दूरदर्शी र अनुकरणीय रहेको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट तथा मोबाइल एप निर्माणको उद्देश्य, आवश्यकता, विशेषता तथा यसबाट व्यवसायीहरूले प्राप्त गर्ने सेवा–सुविधाबारे विस्तृत जानकारी दिए । महासंघलाई प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्दै सदस्य व्यवसायीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा तथा व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्य रहेको अध्यक्ष सुनारको भनाइ छ ।

सार्वजनिक गरिएको वेबसाइट तथा मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन, नियम तथा निर्देशिका आदि जानकारी पाउनेछन् । त्यस्तै, सुनचाँदीसँग सम्बन्धित कार्यक्रमसम्बन्धी जानकारी, संस्थागत तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित सेवा तथा अन्य आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्ने बताइएको छ । यस डिजिटल प्रणालीले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने महासंघको विश्वास रहेको छ ।

भौतिक तथा अनलाइन माध्यमबाट महासंघमा आबद्ध सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले वेबसाइट र एपको उपयोगिता तथा आगामी दिनमा थप सेवा–सुविधा समावेश गर्नुपर्ने विषयमा रचनात्मक सुझाव दिएका थिए ।

1

Scroll to Top