Banijya News

मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, लाभांश क्षमता कमजोर

1
1.0K Shares

क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा खुद नाफा बढाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले बढेको छ ।

तर, समीक्षा अवधिमा वितरणयोग्य नाफा भने ५.०१ प्रतिशतले घटेको छ । बैंकको ब्याज आम्दानी १७.९८ प्रतिशत बढेर रु. ६७.४२ करोड पुगेको छ । ब्याज खर्च भने रु. ३६.६७ करोडमा लगभग स्थिर रह्यो । जसले गर्दा खुद ब्याज आम्दानी रु. २०.४६ करोडबाट रु. ३०.७४ करोड पुगेको हो ।

त्यस्तै, बैंकको खुद नाफा ८.९८ प्रतिशत बढेर रु. १४.१२ करोड पुगेको छ । सञ्चालन मुनाफा पनि बढेर रु. २०.१७ करोड पुगेको छ । चुक्ता पूँजी रु. १.२२ अर्बमै स्थिर रहेकाले ईपीएस रु. १०.६५ बाट रु. ११.६० पुगेको हो ।

तर, कुल वितरणयोग्य नाफा रु. १६.३० करोडबाट रु. १५.४९ करोडमा झरेको छ । नियामकीय समायोजनपछि चालु वर्षको नाफाबाट वितरणका लागि उपलब्ध रकम रु. ११.३५ करोड रहेको छ, जुन अघिल्लो वर्षको रु. ११.९७ करोडभन्दा ५.१० प्रतिशत कम हो । यसबाट खुद नाफा बढे पनि लाभांश क्षमतामा त्यही अनुपातको सुधार नआएको देखिन्छ ।

यसैगरी, बैंकको निक्षेप रु. ६.५१ अर्बबाट रु. ८.८५ अर्ब पुगेको छ भने ग्राहक कर्जा रु. ५.१८ अर्बबाट रु. ६.६९ अर्ब पुगेको छ । निक्षेपको वृद्धिदर कर्जाको भन्दा ६.८२ प्रतिशत बिन्दुले बढी छ । फलस्वरूप सीडी रेसियो ८१.३९ प्रतिशतमा झरेको छ ।

त्यस्तै, खराब कर्जा अनुपात ०.२८ प्रतिशतबाट ०.२६ प्रतिशतमा घट्नु सकारात्मक हो । तर, कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि बैंकले चालु वर्ष रु. १.६१ करोड इम्पेयरमेन्ट चार्ज राखेको छ । अघिल्लो वर्ष रु. २१.७० लाख प्रोभिजन रिभर्सल भएको थियो । त्यसैले एनपीएल अनुपात घटे पनि नयाँ कर्जा विस्तारसँगै अपेक्षित कर्जा जोखिम व्यवस्थापनको लागत बढेको देखिन्छ ।

समग्रमा, मितेरी डेभलपमेन्ट बैंकको वर्षअन्तको विवरणअनुसार, निक्षेप–कर्जा र खुद ब्याज आम्दानीको वृद्धि निकै बलियो रहेको देखिन्छ । साथै, एनपीएल घटेको, प्रोभिजन कभरेज बढेको र पूँजी पर्याप्तता २५.७५ प्रतिशत रहेको हुँदा जोखिम थेग्ने क्षमता सहज रहेको छ । बैंकको व्यवसाय र सम्पत्ति तीव्र विस्तारको तुलनामा नाफाको वृद्धि मध्यम रहेको देखिन्छ ।

1

Scroll to Top