सरकारले वातावरणीय सुधार र व्यापार घाटा न्यूनीकरणका लागि विद्युतीय सवारी (ईभी)लाई प्रोत्साहन गर्ने नीति लिएको छ । तर, पछिल्लो समयमा विद्युतीय सवारीको तुलनामा इन्धनमा आधारित (आईसीई) सवारीको बजार पुनः उकालो लागेको पाइएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा नेपालले कूल १ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको सवारी साधन आयात गरेको छ । तर, यस वर्ष विद्युतीय चार पाङ्ग्रेको आयातमा भने करिब १२ प्रतिशतले गिरावट आएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा १७ हजार ३ सय ८१ युनिट चार पाङ्ग्रे ईभी नेपाल भित्रिएको थियो । तर, गत वर्ष यो संख्या १५ हजार १ सय ७१ मा खुम्चिएको छ ।
सरकारले बजेटमार्फत विद्युतीय सवारीमा करका दरहरूमा गरेको पटक–पटकको हेरफेर र चार्जिङ स्टेशनको सुस्त विस्तारले उपभोक्ताको आत्मविश्वासमा केही कमी ल्याएको अटोमोबाइल व्यवसायीहरूको विश्लेषण छ । यद्यपि, ३४ अर्ब २४ करोडको ईभी आयात हुँदा सरकारले यसबाट २१ अर्ब ६१ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
विद्युतीय चार पाङ्ग्रेमा कमी आएको देखिए पनि दुई पाङ्ग्रे सवारीको बजारमा भने ठूलो उछाल आएको छ । तर, ईभीको तुलनामा इन्धनबाट चल्ने बाइक र स्कुटरको आयात ५० हजार युनिटले बढेको देखिन्छ । गत वर्ष २ लाख ५० हजारभन्दा बढी इन्धनयुक्त दुई पाङ्ग्रे भित्रिएका छन्, जसको मूल्य ३३ अर्ब ७ करोड रुपैयाँबराबर रहेको छ । विद्युतीय दुई पाङ्ग्रे सवारीको आयात अघिल्लो वर्षको तुलनामा दोब्बर बढेको पाइए पनि इन्धन सवारीको तुलनामा यसको हिस्सा नगन्य रहेको छ ।
अहिलेको तथ्यांक हेर्ने हो भने नेपालको अटो बजारलाई नीतिगत अस्थिरताले प्रभावित पारिरहेको हुन्छ । ईभीको आयात घट्नु र इन्धन सवारीको माग बढ्नुमा बैंकको ब्याजदर, भन्सार दर र बजारको मनोविज्ञानले असर पारेको बुझ्न सकिन्छ । व्यावसायिक सवारीको आयातमा भएको वृद्धिले निर्माण र ढुवानी क्षेत्र केही चलायमान हुन खोजेको देखाउँछ, जुन सकारात्मक पक्ष हो ।
तर, समग्रमा नेपालको अटोमोबाइल बजार इन्धनबाट विद्युतीयतर्फ मोडिने सम्भावना सोचेजस्तो सहज नभएको यो तथ्यांकले देखाउँछ । विश्वव्यापी रूपमा ईभीको लहर बढ्दै गए पनि नेपाली बजारमा अझै पनि इन्धन सवारीको बलियो पकड रहेको छ । यसबाट नेपालको यातायात्र क्षेत्रमा अझै पनि पेट्रोलको विकल्प तत्कालै विस्थापित भइहाल्ने स्थिति नरहेको बुभ्m सकिन्छ ।


