Banijya News

वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने !

1
1.0K Shares

अब वालेट खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रिय परिचपत्र अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था थप गरेको हो ।

अब भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार राष्ट्रिय परिचयपत्रको विवरण समेत यकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउनुपर्नेछ । यसका लागि संस्थाले आउँदो असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वःघोषणा लिनुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ । त्यस्तै, राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

यसैगरी, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात लिएरसमेत वालेट खोल्न सक्नेछन् । यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।

त्यस्तै, आफ्‌नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने भनिएको छ ।

1

Scroll to Top