Banijya News

आयात १६ प्रतिशतले बढ्दा भन्सार राजस्व साढे ६ प्रतिशतमा खुम्चियो

1
1.0K Shares

नेपालको वैदेशिक व्यापार विस्तार भए पनि सोहीअनुरुप भन्सार राजस्वमा वृद्धि हुन सकेको देखिँदैन । गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा पनि भन्सार राजस्व वृद्धि भने ६.५ प्रतिशतमा सीमित भएको पाइएको छ ।

भन्सार विभागका अनुसार, गत आवमा सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, वास्तविक संकलन ५ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८७.६ प्रतिशत हो ।

गत आवमा नेपालको कुल आयात २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो आयात १८ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो । एक वर्षमै करिब २ खर्ब ९२ अर्ब रुपैयाँले आयात बढे पनि त्यसअनुसार भन्सार राजस्वमा वृद्धि हुन नसकेको तथ्यांकले देखाउँछ ।

त्यसो त, सरकारले विभिन्न आयोजना, उद्योग तथा प्राथमिकताका क्षेत्रका लागि भन्सार छुट दिने गरेको छ । यसले गर्दा पनि राजस्व संकलनमा प्रभाव पर्ने गरेको छ । आयात बढ्दै जाँदा पनि छुट सुविधा र न्यून महसुल भएका वस्तुको हिस्सा ठूलो हुँदा भन्सार राजस्व वृद्धिको गति कमजोर देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार, गत आवको कुनै पनि महिनामा राजस्व संकलन लक्ष्य पूरा हुन सकेन । गत आवमा सबैभन्दा धेरै राजस्व संकलन चैतमा भएको थियो, त्यस बेला लक्ष्यको ९५.२ प्रतिशत राजस्व उठेको थियो । माघमा ९३.८ प्रतिशत र असारमा ९२.९ प्रतिशत राजस्व संकलन भएको विवरण छ ।

गएको एक वर्षको अवधिमा सबैभन्दा कमजोर प्रदर्शन कात्तिकमा भएको पाइएको छ । उक्त महिनामा लक्ष्यको ७२.६ प्रतिशत मात्र भन्सार राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको जेठ महिनामा भन्सार राजस्व घटेको देखिन्छ । २०८१/८२ को जेठमा ४९ अर्ब ६२ करोड रुपैयाँ संकलन भएकोमा २०८२/८३ को सोही महिनामा ४७ अर्ब ८६ करोड रुपैयाँ मात्र उठेको छ । यो ३.६ प्रतिशतको गिरावट हो । यी तथ्यांकहरुले वैदेशिक व्यापारमा वृद्धि भएको देखिए पनि अपेक्षाकृत राजस्व संकलन हुन नसकेको देखाउँछ ।

1

Scroll to Top