Banijya News

चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ देखि सञ्चालनमा आउने

1
1.0K Shares

नेपाली उपभोक्तालाई लक्षित गरी नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार डटकम सञ्चालनमा आउने भएको छ । यही साउन १३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने उक्त प्लेटफर्मले उत्पादकदेखि उपभोक्तासम्मको आपूर्ति शृंखलालाई सहज बनाउँदै गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा उपलब्ध गराउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

चाइनाबजारका अनुसार, नेपालमा आयातित वस्तुहरू परम्परागत रूपमा आयातकर्ता, थोक विक्रेता र वितरक हुँदै उपभोक्तासम्म पुग्ने गरेका छन् । यस बहु–तहको आपूर्ति प्रणालीका कारण वस्तुको मूल्य बढ्ने र आपूर्तिमा अनिश्चितता देखिने अवस्थालाई सम्बोधन गर्न नयाँ व्यवसायिक मोडल अपनाइएको कम्पनीले जनाएको छ ।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार कम्पनीले तेस्रो पक्षका बिक्रेता वा आयात एजेन्टमा निर्भर नभई चीनका उत्पादकबाट प्रत्यक्ष वस्तु छनोट तथा खरिद गर्नेछ । खरिद गरिएका सामग्री कम्पनीकै व्यवस्थापनअन्तर्गत नेपाल भित्र्याउने, भण्डारण गर्ने र आफ्‌नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउने योजना रहेको बताइएको छ ।

कम्पनीका अनुसार, एकीकृत आपूर्ति व्यवस्थापन प्रणालीका कारण ढुवानी समय घटाउन, लागत नियन्त्रण गर्न र ग्राहकलाई प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । बजारमा आपूर्ति उतारचढाव भए पनि नियमित सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

‘इन्जोय योर सपिङ’ नारासहित सुरु हुन लागेको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी उत्पादन बिक्री गर्नेछ ।

आगामी दिनमा उत्पादनको क्षेत्र विस्तार गर्दै जाने कम्पनीको योजना छ । ग्राहकले ई–सेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । कम्पनीले आफ्‌नै गोदाम तथा वितरण प्रणालीमार्फत आवश्यक मौज्दात व्यवस्थापन गरी छिटो र भरपर्दो सेवा उपलब्ध गराउने जनाएको छ ।

सीईओ श्रेष्ठले नेपालको डिजिटल अर्थतन्त्र विस्तार भइरहेको र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप मजबुत बन्दै गएको अवस्थामा चाइनाबजारले दुवै क्षेत्रलाई जोड्ने लक्ष्य राखेको बताइन् । कम्पनीले आगामी चरणमा देशभर वितरण सञ्जाल विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

1

Scroll to Top