Banijya News

नागढुंगा सुरुङमार्गको उद्घाटन सोमबार हुँदै, आपत्‌कालीन सवारीलाई मात्र अनुमति दिइने, अन्यको हकमा के हुन्छ ?

1
1.1K Shares

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन भोलि सोमबार हुने भएको छ । नागढुंगा सुरुङमार्ग परियोजनाका अनुसार, उद्घाटन कार्यक्रम बिहान १०ः३० बजे आयोजना गरिने भएको छ ।

सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा गर्ने बताइएको छ । उद्घाटन कार्यक्रममा सहभागी हुन जाइका अध्यक्ष अकिहिको आइतबार नेपाल आइपुग्नेछन् ।

सुरुङमार्गको उद्घाटन भए पनि अहिले नै सर्वसाधारणका सवारीसाधन सञ्चालन हुने छैनन् । पहिलो चरणमा दमकल, एम्बुलेन्सलगायत आपत्कालीन सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने बताइएको छ ।

आवश्यक तयारी पूरा भएपछि मात्र क्रमिक रूपमा सवारीसाधनलाई खुला गरिने जनाइएको छ । सुरुङमार्ग पूर्णरुपमा सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा हुने सवारी जाम कम हुने र काठमाडौं–धादिङ आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्गको सञ्चालन तथा मर्मतसम्भारका लागि गत वैशाख १६ गते चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उपक्रम (युसिन–एआरटी जेभी)सँग सम्झौता भएको थियो । उक्त कम्पनीले १ अर्ब १० करोड ४० लाख रुपैयाँमा पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापन गर्नेछ ।

काठमाडौं प्रवेशद्वार नागढुंगाको उकालो र सवारी जाम न्यूनीकरण गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो । यसको सम्भाव्यता अध्ययन सन् २०१३ मा गरिएको थियो भने वि.सं. २०७६ कात्तिक २८ गते निर्माण ठेक्का सम्झौता भएको थियो । सुरुमा २०८० वैशाख ३० गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी र स्थानीय अवरोधका कारण समयमै काम सम्पन्न हुन नसकेपछि म्याद थप्दै २०८२ कात्तिक ८ गतेसम्म पुर्‍याइएको थियो ।

धादिङको सिस्ने खोला र काठमाडौंको किसिपिडी जोड्ने २.६८८ किलोमिटर लामो सुरुङमार्गमा ३.५–३.५ मिटर चौडाइका दुई लेन, बीचमा १.५ मिटरको मेडियन तथा दुवैतर्फ ०.५ मिटर चौडाइका ढल नाली निर्माण गरिएको छ । सुरुङमार्गमा पुग्न काठमाडौंतर्फ २.३०७ किलोमिटर र धादिङतर्फ ०.५६५ किलोमिटर लम्बाइका एप्रोच सडकसमेत निर्माण गरिएको छ ।

1

Scroll to Top