गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट हालसम्मको उच्च राजस्व संकलन भएको छ । घरजग्गा कारोबारमा सामान्य सुधार देखिएपनि राजस्वमा उच्च वृद्धि हुँदा घरजग्गा कारोबारबाट हालसम्मकै धेरै राजस्व संकलन भएको हो । विशेषगरी उच्च मूल्य भएको शहरी क्षेत्रको घरजग्गा कारोबार हुँदा राजस्व संकलनमा राम्रो सुधार देखिएको हो ।
अघिल्लो आव २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा घरजग्गा कारोबारमा हुने लिखित पारित ०.५९ प्रतिशतले सामान्य वृद्धि भएको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, आव २०८१/८२ मा ५ लाख ३८ हजार १२८ लिखत पारित भएकोमा गत आवमा बढेर ५ लाख ४१ हजार ३०० पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ३७ हजार २९७ लिखत पारित भएको थियो । यसले पछिल्लो तीन आर्थिक वर्षमा घरजग्गा कारोबारमा खासै सुधार हुन नसकेको देखाउँछ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा घरजग्गा कारोबारसँगै राजस्व संकलनले समेत नयाँ उचाइ कायम गरेको थियो ।
गत आर्थिक वर्षमा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व संकलनले नयाँ उचाइ कायम गरे पनि कारोबार भने ५ वर्षअघिको नजिक पुग्न सकेको छैन । आव २०७८/७९ मा ७ लाख ४५ हजार लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
यसैगरी, आव २०७९/८० मा लिखत पारित ३८ प्रतिशतले घटेर ४ लाख ६३ हजार ३ सय २२ मा सीमित भएको थियो । त्यसयता पछिल्लो ३ वर्षमा घरजग्गा कारोबारको लिखत पारित करिब ५ लाख ४० हजारको करिब रहेको देखिन्छ ।
घरजग्गा कारोबारको राजस्व संकलनले आर्थिक वर्ष २०७८/७९ मा नयाँ उचाइ कायम गरेपछि आब २०७९/८० मा कारोबारसँगै २९ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, २०७८/७९ मा ५८ अर्ब ३४ करोड ५८ रुपैयाँ बराबर मालपोत कर संकलन भएको थियो । कुल मालपोत करमध्ये रजिष्ट्रेसन दस्तुर ३५ अर्ब २२ करोड २० लाख रुपैयाँ र पुँजीगत लाभकर १५ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ थियो । बाँकी राजस्व अन्य विभिन्न शीर्षकमा संकलन भएको थियो ।
यसअघि आर्थिक वर्ष २०७७/७८ मा घरजग्गा कारोबारबाट ४९ अर्ब ८८ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जसमध्ये रजिष्ट्रेसन दस्तुर २८ अर्ब ४ करोड ६६ लाख रुपैयाँ र पुँजीगत लाभकर १७ अर्ब ३२ करोड २० लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, २०७९/८० मा आब २०७८/७९ को तुलनामा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व ३९ प्रतिशतले घटेर ३५ अर्ब ४४ करोड ९५ लाख रुपैयाँमा सिमित भएको थियो । जसमध्ये १९ अर्ब ३५ करोड ५० लाख रुपैयाँ रजिपष्ट्रेसन दस्तुर १२ अर्ब २१ राजस्व ३२ लाख रुपैयाँ पूँजीगत लाभकर र बाँकी अन्य शीर्षकमा संक्लन भएको थियो ।
पछिल्लो ३ आर्थिक वर्षमा राजस्व संकलनमा क्रमिक रुपमा सुधार हुँदै जाँदा गत आर्थिक वर्षमा ५ वर्ष अघि संकलन भएको राजस्वभन्दा माथि पुगेको हो । आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ९१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४९ अर्ब ४ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्षमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.८४ प्रतिशतले बढेर ६० अर्ब ७३ करोड ७३ लाख रुपैयाँ पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत आर्थिक वर्षमा संकलन भएको कुल राजस्वमध्ये रजिष्ट्रेसन दस्तुर ३२ अर्ब ४ करोड ७८ लाख रुपैयाँ र पूँजीगत लाभकर २४ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्षमा घरजग्गा कारोबारबाट संकलन हुने रजिस्ट्रेसन दस्तुरमा सामान्य वृद्धि देखिए पनि पुँजीगत लाभकरमा उल्लेख्य सुधाार देखिएको हो ।
नेपाल राष्ट्र बैंकको गत आव २०८२/८३ को तेस्रो त्रैमासको घरजग्गा कारोबारको प्रवृत्ति सम्बन्धी एक प्रतिवेदनले पनि कारोबार संख्या नबढे पनि कारोबार मूल्य उच्च दरले बढेको देखाएको थियो ।
आव २०८१/८२ को तेस्रो त्रैमासमा १ खर्ब रुपैयाँ मूल्य बराबरको घरजग्गा कारोबार भएकोमा गत आवको तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर, कारोबार भएको क्षेत्रफल भने अघिल्लो वर्षको तुलनामा १.६० प्रतिशतले मात्रै बढेको प्रतिवेदनमा उल्लेख छ । यसले पनि उच्च मूल्य भएको घरजग्गाको कारोबार बढेको र राजस्वमा उल्लेख्य योगदान दिएको पुष्टि हुन्छ ।
सरकार र राष्ट्र बैंकले घरजग्गा कारोबारलाई चलायमान बनाउन भन्दै विभिन्न लचकता अपनाए पनि त्यसले सकारात्मक परिणाम दिन सकेको छैन । गत आर्थिक वर्षमा पनि घरजग्गाको कारोबार संख्यात्मक रुपमा बढेको छैन । सहरी क्षेत्रका महँगो मूल्यमा जग्गा बैंकहरुले लिलाम गर्दा त्यसले पनि कारोबार मूल्यसँगै राजस्वमा भने वृद्धि देखिएको छ ।
आवको अन्तिम महिनामा मालपोत करमा देखिएको सुधारका कारण गत आव मालपोत कर उच्च वृद्धि देखिएको हो । असारमा मात्रै ११ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व संकलन हुँदा जेठमा ५ अर्ब २४ करोड ४३ लाख र वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख मालपोत कर संकलन भएको छ ।
२०८१/८२ असारमा ६ अर्ब ५५ करोड १७ लाख, जेठमा ४ अर्ब ७२ करोड ७१ लाख र वैशाखमा ४ अर्ब ५४ लाख २३ लाख रुपैयाँ मालपोत कर संकलन भएको थियो ।
२०८२/८३ असारमा कारोबारसँगै राजस्वमा पनि उच्च वृद्धि भएको छ । गत आबमा कुल ६० अर्ब ७३ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन हुँदा असारमा मात्रै ११ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये ६ अर्ब २ करोड ८१ लाख रुपैयाँ रजिष्ट्रेसन दस्तुर, ५ अर्ब २८ करोड १ लाख रुपैयाँ पूँजीगत लाभकर र बाँकी अन्य शिर्षकको कर हो ।
घरजग्गा कारोबारको संख्यात्मक सुधार नदेखिए पनि उच्च मूल्य भएको घरजग्गाको कारोबारमा भएको वृद्धि र वास्तविक मूल्य र कारोबारमा मूल्यमा ठुलो अन्तर नभई कर तिर्ने अवस्था बढ्दै जाँदा पनि घरजग्गा कारोबारको रजिष्ट्रेसन दस्तुरभन्दा पूँजीगत लाभकरको वृद्धि उच्च देखिएको बताइन्छ ।
विगतमा बढी मूल्यमा वास्तविक कारोबार भएपनि सरकारी रेकर्डमा न्युन मूल्य देखाए कारोबार गर्ने अभ्यास धेरै हुँदा राजस्व न्युन उठ्ने गरेको थियो । तर, पछिल्लो समय कारोबार मूल्य र वास्तविक मूल्यमा अन्तर धेरै नहुने हुँदा पनि कारोबार अर्थात् लिखत पारितमा सुधार नभएपनि राजस्वमा उल्लेख्य वृद्धि भएको आँकलन गर्न सकिन्छ ।


