Banijya News

आन्तरिक उत्पादनले धान्यो देशको विद्युत् माग, आयात रोकिएर निर्यातमा वृद्धि

1
1.1K Shares

नेपालले विद्युत् उत्पादनमा हासिल गरेको उल्लेखनीय प्रगतिसँगै ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ ऐतिहासिक फड्को मारेको छ। पछिल्लो समय आन्तरिक उत्पादनबाटै देशको सम्पूर्ण विद्युत् माग धानिन थालेको छ भने भारतबाट हुने आयात पूर्ण रूपमा बन्द भएर अतिरिक्त बिजुली छिमेकी देशतर्फ निर्यात भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशको साँझको उच्चतम विद्युत् माग (पिक आवर) ३ हजार २४८ मेगावाट र दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ। यो माग पूरा गर्न पूर्ण रूपमा आन्तरिक उत्पादन नै परिचालन गरिएको छ भने यस अवधिमा २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात भइसकेको छ। विद्युत् उत्पादनको यो सफलतामा निजी ऊर्जा उत्पादकहरूको योगदान सबैभन्दा ठूलो र प्रशंसनीय देखिएको छ। तथ्यांक अनुसार निजी क्षेत्रबाट मात्रै कुल ४७ हजार ५६३ मेगावाट घण्टा विद्युत् प्रणालीमा योगदान पुगिरहेको छ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा र सहायक कम्पनीमार्फत १७ हजार १०८ मेगावाट घण्टा विद्युत् उत्पादन भइरहेको छ। अर्कोतर्फ, यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरो वा अन्य प्राकृतिक प्रकोपका कारण देशका कुनै पनि क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छैन। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सातै प्रदेश र काठमाडौं उपत्यकामा प्राविधिक मर्मत टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।

केही वर्षअघिसम्म हिउँदको समयमा चरम ऊर्जा संकट व्यहोर्दै आएको नेपालले भारतबाट महँगोमा बिजुली आयात गर्नुपर्ने बाध्यता थियो। तर, जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको बढ्दो लगानी, उत्पादन क्षमताको तीव्र विस्तार र प्रसारण प्रणालीमा भएको सुधारले यो तस्बिरलाई पूरै फेदबदल गरिदिएको छ। निजी क्षेत्रका आयोजनाहरूले समयमै उत्पादन थालेपछि नेपाल वर्षायाममा ‘ऊर्जा उपभोक्ता’ बाट ‘ऊर्जा निर्यातक’ मुलुक बन्न सफल भएको छ। जानकारहरूका अनुसार यही गतिमा उत्पादन क्षमता र प्रसारण पूर्वाधार विस्तार गर्न सकिए नेपाल आगामी दिनमा दक्षिण एसियाली क्षेत्रीय ऊर्जा बजारको एक महत्त्वपूर्ण खेलाडी बन्न सक्नेछ।

वर्तमान अवस्थाले नेपालको ऊर्जा आत्मनिर्भरताको सुखद चित्र प्रस्तुत गरे पनि आगामी दिनका लागि केही महत्त्वपूर्ण चुनौती र सावधानीहरू बाँकी नै छन्। हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने हुँदा आन्तरिक उत्पादनमा ह्रास आउने प्रवृत्ति कायमै छ। त्यसैले, ऊर्जा क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि राज्यले जलाशययुक्त (स्टोरेज) आयोजनाहरूको निर्माणलाई तीब्रता दिनु अनिवार्य देखिन्छ। यसका साथै, आन्तरिक खपत तथा अन्तरदेशीय व्यापारलाई सहज बनाउन बलियो प्रसारण पूर्वाधारको विस्तार गर्नु आजको प्रमुख आवश्यकता हो।

1

Scroll to Top