नेपालले आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात गरेको छ । यसबाट सरकारले १ खर्ब १३ अर्ब ५८ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख रुपैयाँमा आयात गरिएको थियो । यसबाट मात्रै सरकारले ५७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
यसैगरी, गत आवमा ७ लाख ५१ हजार ६४२ किलोलिटर पेट्रोल ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँमा आयात भएको तथ्यांक छ । पेट्रोलबाट सरकारले ४० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ ।
त्यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यास पनि ठूलो परिमाणमा आयात भएको छ । एक वर्षमा ५२ करोड ५ लाख किलोभन्दा बढी एलपी ग्यास ६० अर्ब २८ करोड रुपैयाँमा आयात गरिएको थियो । यसबाट ११ अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
२ लाख १३ हजार ६४३ किलोलिटर हवाई इन्धन आयातमा २६ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ । यसबाट सरकारले करिब ३ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आवमा मट्टितेलको आयात भने निकै कम रहेको छ । गत वर्ष ६ हजार ९२८ किलोलिटर मट्टितेल ६७ करोड ७४ लाख रुपैयाँमा आयात भएको थियो । यसबाट १७ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार नेपालमा प्रयोग हुने अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात गरिन्छ । तर, विशेष प्रकारका इन्धन, लुब्रिकेन्ट र बेस आयल भने अस्ट्रेलिया, चीन, बहराइन, कतार, सिंगापुर र इटालीलगायत देशबाट पनि ल्याइने गरिएको छ ।


