Banijya News

सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का तोडियो

1
1.0K Shares

निर्माण कार्य अलपत्र पार्ने मकवानपुरको शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिको ठेक्का तोडिएको छ । सम्झौता अनुसार म्यादभित्रै काम सम्पन्न नगरेको र लामो समयदेखि निर्माण स्थल अलपत्र पारेको भन्दै सडक डिभिजन भरतपुरले ठेक्का अन्त्य गरेको हो ।

सोमबार एक सार्वजनिक सूचना निकालेर डिभिजनले ठेक्का सम्झौता तोडिएको जानकारी दिएको छ । उक्त कम्पनीले चितवनको पूर्व–पश्चिम राजमार्ग (एमआरएम) अन्तर्गत लोथरदेखि टिकौलीसम्मको सडक मर्मत तथा ओभरले गर्ने ठेक्का जिम्मा लिएको थियो ।

तर, सम्झौताअनुसार काम सक्न कार्यालयले लिखित तथा मौखिक रूपमा पटक–पटक अनुरोध गर्दा पनि कम्पनीले आफ्नो दायित्व पूरा नगरेको सूचनामा उल्लेख छ ।

यसअघि २०७९ पुस २० गते सडक डिभिजनले ठेक्का किन अन्त्य नगर्ने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो । निर्धारित अवधिमा निर्माण व्यवसायीबाट सन्तोषजनक जवाफ नआएको कार्यालयले जनाएको छ । निर्माण व्यवसायी स्वयंबाटै ठेक्का सम्पन्न नहुने परिस्थिति सिर्जना भएको निष्कर्ष निकाल्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २ र ७ बमोजिम साउन ८ गतेको निर्णयअनुसार ठेक्का तोडिएको हो ।

ठेक्का अन्त्य भएसँगै कानुन बमोजिम कम्पनीलाई थप कारबाहीको प्रक्रिया अगाडि बढाइने सडक डिभिजनले स्पष्ट पारेको छ । कार्यालयले जारी गरेको सूचनामा ‘स्वीकार्य रूपमा सम्पन्न भइसकेका कुनै कार्य भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई वित्तीय फरफारक गर्न’ निर्देशन दिइएको छ ।

तोकिएको समयभित्र निर्माण व्यवसायी वा प्रतिनिधि कार्यालयमा उपस्थित नभएमा डिभिजन आफैँले कानुन अनुसार वित्तीय फरफारकको काम अघि बढाउने चेतावनी समेत दिइएको छ ।

1

Scroll to Top