नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन भएको छ । यो नै हालसम्मको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन भएको छ ।
सुरुङमार्गको उद्घाटन भएपनि पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र यात्रा गर्न दिइने छ । केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर मात्र सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने भनिएको छ ।
परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन । तर, यसपछि भने उक्त सुरुङमार्ग भएर यात्रा गर्दा निश्चित शुल्क तिर्नु पर्दछ । कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा लाग्ने शुल्क फरक–फरक तोकिएको छ ।
सडक विभागका अनुसार, कार र भ्यानले काठमाडौं भित्रिँदा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ । त्यस्तै, मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा रु ११५ र बाहिरिँदा रु ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । बस, ट्रकले काठमाडौँ आउँदा रु २६० र बाहिरिँदा रु २०० बराबरको शुल्क तिर्नुपर्ने बताइएको छ । सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले विद्युतीय माध्यमबाट भुक्तानी गर्नेगरी आवश्यक प्रबन्ध गरिएको छ ।
तर, उक्त सुरुङमार्गबाट यात्रा गर्न पैदलयात्री, दुईपाङ्ग्र्रे, तीनपाङ्ग्र्रे सवारीलाई निषेध गरिएको छ । साथै, डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्ग भएर यात्रा गर्न निषेध गरिएको छ ।
सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्बबराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु छ अर्बबराबरको लगानी रहेको छ ।
आयोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार, सुरुङमार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरुक्षाका लागि दमकल, आकस्मिक उद्धार, सिसीटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र उपलब्ध छ । साथै, सुरुङमार्गमा अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुंगिनेछ । हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झन्डै एक घन्टा समय बचत हुने अपेक्षा गरिएको छ । सुरुङमार्ग निर्माण सुरु गर्दा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोराना महामारी तथा अन्य केही जटिलताका कारण आयोजनाको समय लम्बिन पुगेको हो ।


