Banijya News

बीमा कम्पनीका निलम्बित सीईओले बागमतिमा हामफाले, ट्रमा सेन्टरमा उपचार हुँदै

1
1.0K Shares

गम्भीर कानुनी विवादमा मुछिएर पदबाट निलम्बित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोक्कालाई बागमती नदीबाट उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१३ निवासी ५९ वर्षीय रोक्कालाई सोमबार दिउँसो करिब साढे ४ बजे थापाथलीस्थित प्रहरी बिट पछाडिको बागमती क्षेत्रबाट स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

रोक्काको शरीरमा बाहिरी चोटपटक नदेखिएको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकीय निगरानी भइरहेको छ ।

पारिवारिक स्रोतका अनुसार रोक्का पछिल्लो करिब एक महिनादेखि मानसिक स्वास्थ्यसम्बन्धी उपचारमा थिए । यद्यपि, सोमबारको घटनालाई उनको स्वास्थ्य अवस्था वा उनीविरुद्ध चलिरहेको मुद्दासँग तत्काल जोडेर निष्कर्ष निकाल्न नमिल्ने प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको छ ।

कृषि विकास बैंकको डिजिटल बैंकिङ विभागको प्रमुखबाट अवकाश पाएका रोक्का त्यसपछि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । कम्पनीको इजाजतपत्र प्राप्त गर्ने क्रममा झुटा विवरण तथा कागजात पेस गरेको, नियामकीय प्रक्रिया उल्लंघन गरेको र धितोपत्र तथा बीमासम्बन्धी कानूनविपरीत काम गरेको आरोपमा गत जेठ २८ गते मुद्दा दायर भएको थियो ।

त्यसपछि उनी स्वतः निलम्बनमा परेका थिए । सोही प्रकरणमा कम्पनीका निलम्बित अध्यक्ष दिनेश सरियासहित सञ्चालक नितेश मालपानी र भानुभक्त अर्यालविरुद्ध पनि धितोपत्रसम्बन्धी कानून तथा बीमा ऐनअन्तर्गत मुद्दा दायर भएको छ ।

कम्पनीको लाइसेन्स प्रक्रियासँग जोडिएको मुद्दा विचाराधीन रहेकै अवस्थामा रोक्कासँग सम्बन्धित पछिल्लो घटना सार्वजनिक भएको हो । प्रहरीले घटनाको पृष्ठभूमि साथै पछिल्लो घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

1

Scroll to Top