Banijya News

गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्दा दर्ता

1
1.1K Shares

चितवनमा न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार वटा खाद्य उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरेको हो ।

पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध मात्रै दुई वटा मुद्दा दर्ता गरिएको छ भने अन्य तीन उद्योगविरुद्ध एक/एक वटा मुद्दा दर्ता गरिएको छ । कार्यालयले कारबाहीमा परेका उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको छ ।

कार्यालयका अनुसार रिजाल फुड्सले उत्पादन गर्ने दालमोठ र नमकिन मिक्सचर (दालमोठ) को गुणस्तर न्यून पाइएपछि कानुनी कारबाही अघि बढाइएको हो । त्यस्तै, खैरहनीस्थित ओमकार आयल इन्डष्ट्रिज विरुद्ध आयातित तोरीको गेडाबाट उत्पादन गरिएको तोरीको तेलको गुणस्तर कमजोर भएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

भरतपुरकै नौलो फुड्स इन्डष्ट्रिजले उत्पादन गर्ने सिटिसी चिया मसलाको गुणस्तर तथा रत्ननगरस्थित आचार्य फुड उद्योगले उत्पादन गर्ने चुक अमिलोको गुणस्तर कमजोर देखिएपछि ती उद्योगविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गत आर्थिक वर्षमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभिन्न अनुगमनसमेत गरेको छ । कार्यालयले आकस्मिक खाद्य स्वच्छता अनुगमन १० पटक, खाद्य बजार अनुगमन ९२ पटक, दाना बजार अनुगमन २० पटक तथा होटल तथा रेष्टुराँ अनुगमन ६३ पटक गरेको जनाएको छ ।

यस अवधिमा ८७ वटा खाद्य उद्योग र २२ वटा दाना उद्योगको अनुगमन गरिएको कार्यालयले जनाएको छ । साथै, हाटबजार, मेला तथा महोत्सवमा चार पटक अनुगमन, आहारपूरक खाद्य पदार्थको ११ पटक निरीक्षण तथा विद्यालय र अस्पतालका क्यान्टिनमा आठ पटक अनुगमन गरिएको कार्यालयले जनाएको छ ।

1

Scroll to Top