Banijya News

भन्सार एजेन्टमा देखिएको विकृतिः लाइसेन्स भाडामा लगाएर राजस्व ठगी !

1
1.0K Shares

भन्सार जाँचपास गर्ने आफ्‌नो लाइसेन्स भाडामा लगाएर भन्सार राजस्व ठगी गर्दै आएका भन्सार एजेन्ट भरत भट्टराईको लाइसेन्स विराटनगर भन्सारले तीन महिनाका लागि निलम्बन गरेको छ ।

पहिलो पटकका लागि भट्टराईको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको हो । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार, अर्को पटक यही प्रवृत्ति दोहोरिए उनको लाइसेन्स नै खारेज हुनेछ ।

भट्टराईले भन्सार जाँचपास गर्ने आफ्‌नो लाइसेन्स अकबर अलीलाई वार्षिक दुई लाख रुपैयाँ भाडामा दिएर भन्सार राजस्व ठगी गर्दै आएको खुलेको थियो । अलीले भट्टराईको लाइसेन्स प्रयोग गरेर भन्सार जाँचपास गर्दा प्रज्ञापनपत्रमा वास्तविक विवरण लुकाएर भन्सार राजस्व छली गरेको पुष्टि भएपछि विराटनगर भन्सारले असार अन्तिम साता अलीले प्रज्ञापनपत्रमा लुकाएको १ लाख ५७ हजार मूल्यका सामान जफत गर्दै ५ लाख ७७ हजार जरिवाना गरेको थियो ।

गत असार २९ गते भारतीय नम्बर प्लेटको बीआर ०१ जीए ३३४७ नम्बरको ट्रक भन्सार जाँचपास सकेर बाहिरिने क्रममा सशस्त्र प्रहरीको नियन्त्रणमा परेपछि अलीको बदमासी सार्वजनिक भएको थियो । सशस्त्र प्रहरीको टोलीले उक्त ट्रक नियन्त्रणमा लिएर पुनः जाँचका लागि भन्सारमा बुझाएको थियो ।

भन्सारको भौतिक परीक्षणका क्रममा अलीले सिलाइ मेसिन र चस्मा आयात गरेको भनी प्रज्ञापनपत्र भरे पनि त्यसभित्र महँगा कपडाहरू लुकाएर ल्याएको फेला परेको थियो । प्रज्ञापनपत्रमा उल्लेख नभएका थप २७ वटा विभिन्न सामग्रीका आइटम र १२ बोरा लुकाइएको कपडा बरामद भएपछि भन्सारले १ लाख ५७ हजार मूल्यका सामान बरामद गर्दै अलीलाई ५ लाख ७७ हजार जरिवाना तिराएको थियो ।

उक्त प्रज्ञापनपत्र जाँचपासमा संलग्न दुई भन्सार कर्मचारीलाई पनि विराटनगर भन्सारले एक महिनाका लागि जिम्मेवारीबाट मुक्त गरेको छ । तर ती कर्मचारीको नाम भने गोप्य राखिएको छ ।

विगतमा पनि विराटनगर भन्सारमा अर्काको भन्सार जाँचपास गर्ने लाइसेन्स भाडामा लिएर भन्सार राजस्व ठगी गरेको आरोपमा एजेन्टहरू कारबाहीमा पर्दै आएका थिए । केही एजेन्टले भन्सार यार्डमा राखिएको मालवाहक ट्रक भन्सार जाँचपास नै नगराई बजार पुर्याउने गरेको बताइन्छ ।

अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गर्दै आएका कुन्दन मण्डल र रिवाज रोक्का यसअघि कारबाहीमा परेका थिए । मण्डललाई भन्सारले १६ लाख र रोक्कालाई ४ लाख जरिवाना गरेर एक महिना काममा रोक लगाएको थियो ।

विराटनगर भन्सार एजेन्ट संघमा लाइसेन्सधारी ४० जना भन्सार एजेन्ट आबद्ध छन् । तीमध्ये मुस्किलले ५–६ जना लाइसेन्सधारी मात्र आफैँ भन्सार जाँचपास गर्दै आएका छन् । तीबाहेक बाँकी सबै लाइसेन्सधारी एजेन्टले आफ्‌नो लाइसेन्स वार्षिक कम्तीमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्ममा भाडामा लगाएर भन्सार राजस्व छली गर्दै आएको पाइएको छ । अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गर्ने एजेन्टहरूले लाइसेन्सधारीको हस्ताक्षर समेत आफैँ गर्छन् । लाइसेन्सधारीहरू विदेशमा हुन्छन्, भाडाका एजेन्टले उनीहरूको हस्ताक्षर गरेर यहाँ भन्सार जाँचपास गरिरहेका हुन्छन् ।

1

Scroll to Top