बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा लिइरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले आज साउन १३ गते बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समयमा कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ । बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा लिने गरेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो ६१ दिने निक्षेप संकलन उपकरणको आउँदो असोज १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।


