Banijya News

हुण्डी कारोबारको आरोपमा धादिङका रिजाल पक्राउ, व्यक्तिगत खाताबाट १ अर्ब ९० करोड कारोबार !

1
1.1K Shares

व्यक्तिगत बैंक खाता प्रयोग गरी झन्डै १ अर्ब ९० करोड रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको आरोपमा ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार, केही व्यक्तिले हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गरिएको थियो । सोही क्रममा रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी उक्त रकम बराबरको हुण्डी कारोबार गरेको देखिएको ब्यूरोले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट हुण्डी कारोबार देखिएपछि सीआईबीले साउन १२ गते काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा रिजाललाई पक्राउ गर्ने अनुमति लिएको थियो ।

अदालतबाट अनुमति प्राप्त भएकै दिन उनलाई काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका रिजालको स्थायी ठेगाना धादिङको सत्यदेवी–८ रहेको र हाल उनी काठमाडौंको नागार्जुन नगरपालिका–८ मा बस्दै आएको प्रहरीले जनाएको छ ।

सीआईबीले सार्वजनिक गरेको विवरणमा कारोबारमा अन्य व्यक्तिको समेत मिलेमतो रहेको उल्लेख भए पनि उनीहरूको पहिचान खुलाइएको छैन । उक्त रकम कुन अवधिमा, कति खातामार्फत र कति पटक कारोबार भएको हो भन्ने विवरण पनि सार्वजनिक सूचनामा उल्लेख छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

1

Scroll to Top