हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको हो ।
आईपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद प्रसाईं र डा. निरञ्जन आचार्य पनि उपस्थित थिए ।
कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने जनाएको भए पनि निष्काशन गरिने शेयर संख्या, प्रतिकित्ता मूल्य, आईपीओबाट संकलन हुने रकम तथा निष्काशनको मितिबारे भने हालसम्म सार्वजनिक गरिएको छैन ।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले उपचार सेवासँगै दन्त रोगको रोकथाम, नियमित मुख स्वास्थ्य परीक्षण तथा दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


