Banijya News

कुमारी बैंकका ग्राहकले मोबाइल एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र ड्राइभिङ परमिट सेवा लिन सक्ने

1
1.0K Shares

कुमारी बैंक लिमिटेडले विदेश जाने ग्राहकलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय डेटा ई–सिम खरिद तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सकिने सेवा सुरु गरेको छ । बैंकले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (निम्बज)सँग सहकार्य सम्झौता गर्दै यी सेवा मोबाइल बैंकिङ एपमा एकीकृत गरेको हो ।

सहकार्यपछि कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय डेटा ई–सिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार, विदेश भ्रमण गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यावसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकलाई लक्षित गरी सेवा ल्याइएको हो ।

अन्तर्राष्ट्रिय डेटा ई–सिममार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद वा परिवर्तन नगरी डेटा सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटसम्बन्धी सेवाले आवेदन प्रक्रियालाई डिजिटल माध्यमबाट सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । सेवा शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।

बैंकले यस सहकार्यले ग्रामीण, अर्ध–शहरी तथा शहरी क्षेत्रका ग्राहकहरूलाई समान रूपमा अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवाहरूमा पहुँच पुर्‍याउन सहयोग गर्ने विश्वास लिएको छ । साथै, विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायिक प्रयोजनका लागि आवश्यक सेवाहरूलाई एकीकृत डिजिटल माध्यमबाट उपलब्ध गराउँदै ग्राहकको अनुभवलाई थप उत्कृष्ट बनाउने अपेक्षा बैंकले गरेको छ ।

1

Scroll to Top