पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक आज बुधबार पनि घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ ।
१३ उपसमूहमध्ये बुधबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज बुधबार ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज एभरेष्ट कलरको शेयरमूल्य निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य १२९ रुपैयाँ १० पैसा बढेर ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, कालिन्चोक हाइड्रोपावरको शेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन खानी खोला हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।


