बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । यसै क्रममा राष्ट्र बैंकले आज शुक्रबार फेरि २५ अर्ब रुपैयाँ लिने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको हो । केन्द्रीय बैंकले आज साउन १५ गते तान्ने २५ अर्बका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो ६१ दिने निक्षेप संकलन उपकरणको आउँदो असोज १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ । बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् ।


