Banijya News

शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न इप्पानको आह्‌वान

1
1.0K Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न भागमा पछिल्लो समय देखिएका सामाजिक तनाव र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इप्पानले शुक्रबार एक अपील जारी गर्दै सम्पूर्ण नेपालीमा शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न हार्दिक आह्‌वान गरेको हो ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीद्वारा जारी अपीलमा नेपालको पहिचान नै विविध भाषा, धर्म र संस्कृतिबीचको सहिष्णुता रहेको उल्लेख गर्दै कुनै पनि असहमति वा विवादलाई वार्ता र संवैधानिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

इप्पानले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार मान्दै अशान्तिले यस क्षेत्रमा गम्भीर असर पार्ने चेतावनी दिएको छ । ‘विद्युत आयोजनाहरू देशका विकट हिमाल, पहाड र तराईमा सञ्चालित छन्, जहाँ स्थानीय समुदायसँगको सहकार्य अपरिहार्य छ,’ अपीलमा भनिएको छ, ‘शान्ति र स्थिरता नभएको ठाउँमा लगानी आकर्षित हुन सक्दैन र सञ्चालित आयोजनाहरू पनि समयमै सम्पन्न हुन सक्दैनन् ।’

सामाजिक अशान्ति, तोडफोड र बन्द हड्ताल जस्ता गतिविधिले लगानीकर्ताको मनोबल गिराउने, उत्पादन लागत बढाउने र अन्ततः राष्ट्रिय अर्थतन्त्रलाई नै धराशायी बनाउने इप्पानको ठहर छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायहरूसमक्ष विकास पूर्वाधार र विद्युत आयोजनाहरूको सुरक्षाको प्रभावकारी व्यवस्था गर्न माग गरेको छ ।

इप्पानले कानुनी शासन र सामाजिक सद्भाव कायम राख्न आवश्यक पहललाई थप सुदृढ बनाउन पनि अनुरोध गरेको छ । सामाजिक र धार्मिक सद्भाव बढाउन नागरिक समाज, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य हुनुपर्नेमा इप्पानले जोड दिएको छ ।

शान्तिपूर्ण र सुरक्षित वातावरण नै समुन्नत नेपालको आधार भएको अध्यक्ष डाँगीको भनाइ छ । उनले अपीलमा भनेका छन्, ‘सबै नेपालीले आपसी एकताको भावनालाई मजबुत बनाउँदै राष्ट्र निर्माणमा हातेमालो गर्ने अपेक्षा इप्पानले राखेको छ ।’

मुलुकको अर्थतन्त्रलाई गति दिन र ऊर्जा उत्पादन वृद्धिका लागि अहिलेको समयमा लगानीमैत्री वातावरण र सामाजिक एकता झन् आवश्यक भएको इप्पानको निष्कर्ष छ ।

1

Scroll to Top