नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।
अवैध रूपमा दूरसञ्चार सेवा सञ्चालन गरी राजस्व चुहावट गरेको सूचनाका आधारमा ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गोरखा घर भई काठमाडौँ बस्ने २२ वर्षीय प्रोशेष गुरुङ, काठमाडौँकी २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुर घर भई भक्तपुर बस्ने २१ वर्षीय जेनित झुकाल र भक्तपुरका ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् ।
ब्यूरोका अनुसार उनीहरूका कोठाबाट ठूलो परिमाणमा सिम बक्स, ल्यापटप, राउटर र सयौँको संख्यामा एनसेलका सिमकार्डहरू बरामद गरिएको छ । विशेषगरी जेनित झुकालको साथबाट ५ थान सिम बक्स र १९३ थान सिमकार्ड बरामद भएको छ भने कृष्ण नगरकोटी भीओआईपी सञ्चालनको तयारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा यो समूहले कल बाइपास मात्र नभई ‘NPR77casino.com’, ‘IME88.com’ र ‘Khalti88.com’ जस्ता अनलाइन सट्टेबाजी एपहरूमा समेत यी उपकरण र सिमकार्डको प्रयोग गरिरहेको खुलेको छ । उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले आइतबार जनाएको छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक अनुप शमशेर जबराका अनुसार, काठमाडौँबाट पक्राउ परेका दुई जनालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन र भक्तपुरबाट पक्राउ परेका दुई जनालाई जिल्ला अदालत भक्तपुरबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता र अवैध कारोबारको थप अनुसन्धान गरिरहेको जनाएको छ ।


