पाँचथरमा रहेको ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजना तीन साताभन्दा बढी समयदेखि बन्द रहेको छ । उक्त आयोजनाको पाइपलाइनमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।
बाढी र पहिरोका कारण आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा कटान भई पाइपलाइनका आधार संरचना र अन्य सिभिल संरचनामा क्षति पुगेको प्रवद्र्धक कम्पनी रिडी पावरले जनाएको छ ।
निरन्तर वर्षा हुँदा पाइपलाइनमुनिको भाग भासिएर विभिन्न ठाउँमा पाइप फुटेका र चिरा परेको समस्या देखिएको बताइन्छ । यसलाई आवश्यक मर्मत कार्य गरी आयोजना पुनः सञ्चालनमा ल्याउने प्रयास असफल भएको कम्पनीले जनाएको छ ।
परीक्षणका क्रममा पुनः विभिन्न स्थानमा पाइपलाइनमा क्षति देखिएपछि सामान्य मर्मतले मात्र आयोजना सञ्चालनमा ल्याउन नसकिने निष्कर्ष निकालिएको हो ।
असार २६ गतेदेखि लगातार विद्युत् उत्पादन ठप्प रहेकाले अहिले विस्तृत प्राविधिक अध्ययन गरी स्थायी रूपमा मर्मत गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।


