आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न भएको छ । कम्पनीमा आबद्ध भई दिनरात एक गरी कार्य गर्ने अभिकर्ताको उच्च सम्मान र ऊर्जाका साथ काम गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।
आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना नियमित रूपमा गर्ने गर्छ । उक्त कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।
अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, कम्पनीको उच्च व्यवस्थापन र अरू सदस्यको उपस्थिति थियो ।
कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले पछिल्ला आठ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गरे । प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको उनले बताए ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले यो पेसालाई सम्मानित बनाउन हरेक बिमा अभिकर्ताले परामर्शदाताको भूमिकामा आउनुपर्ने र त्यसनिम्ति स्वअध्ययनका साथै कम्पनीले उनीहरूको व्यावसायिक क्षमता वृद्धिका लागि थप तालिमको आयोजना गरी सहयोग गरिरहने बताए ।
आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बिमालेख जारी गर्ने अभिकर्तालगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट अभिकर्तालाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकाल, कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. अर्याल, निर्देशकहरू विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल, सन्दीप अग्रवाललगायतले अवार्ड वितरण गरेका थिए ।


