नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/०८३ मा दुई खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणको विवरण अनुुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आवमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
सार्वजनिक भएको तथ्यांकअनुसार, कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् । वृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.३४ प्रतिशतले बृद्धि गर्दै ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ११.०६ प्रतिशतले बढाएर २४ अर्ब ६८ करोड रुपैयाँ र एलआइसी नेपालले ६.५७ प्रतिशतले बढाएर २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.१६ प्रतिशतले बढेर १८ अर्ब ५६ करोड पुगेको छ । सूर्यज्योति लाइफको १६.५९ प्रतिशतले बढेर १२ अर्ब ९० करोड र एशियन लाइफको १३.५३ प्रतिशतले बढेर १० अर्ब ४३ करोड पुगेको विवरणमा उल्लेख छ ।
सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने २.२९ प्रतिशतले घटेर ९ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ ।
यसैगरी, सिटिजन्स लाइफको व्यवसायमा २४.९३ प्रतिशतले वृद्धि भएर ९ अर्ब १६ करोड पुगेको छ । सानिमा रिलायन्स लाइफको १६.९९ प्रतिशतले बढेर ७ अर्ब ९९ करोड, आएइमई लाइफको ३७.९६ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड पुगेको छ ।
त्यस्तै, मेट लाइफको ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८६ करोड, रिलायबल नेपालको २४ प्रतिशतले बढेर ६ अर्ब ४२ करोड, प्रभु महालक्ष्मी लाइफको २१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड र सन नेपाल लाइफको १६.८० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।


