नेपालमा सञ्चालनमा रहेका तीन वटा लघु जीवन बीमा कम्पनीहरूको व्यवसाय १ अर्ब २१ करोडभन्दा बढी पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा तीन बीमा कम्पनीले १ अर्ब २१ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले ४२ करोड ६९ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, गत आवमा क्रेष्ट माइक्रो लाइफले ४१ करोड ८० लाख ८९ हजार रुपैयाँ र लिवर्टी माइक्रो लाइफले ३६ करोड ५८ लाख २६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
अघिल्लो आर्थिक वर्षमा यीनै तीनवटा लघु जीवन बीमा कम्पनीहरूले जम्मा ७९ करोड २६ लाख ८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । त्यस बेला गार्डियनले ३१ करोड ५८ लाख २९ हजार रुपैयाँ, क्रेष्टले २९ करोड ३० लाख २२ हजार रुपैयाँ र लिवर्टीले १८ करोड ३७ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
पछिल्लो विवरणअनुसार, एक वर्षमै तीन लघु बीमा कम्पनीको व्यवसाय ५२.७६ प्रतिशतले बढेको देखिएको छ ।


