गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरूले २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । विभिन्न बीमालेखहरू जारी गरेका ती कम्पनीहरुले सबैभन्दा धेरै सावधिक जीवन बीमाबाट ८२ अर्ब ६२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ३७ अर्ब ६७ करोड २१ लाख रुपैयाँ र बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट ३३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
त्यसैगरी, रुपान्तरित सावधिक जीवन बीमाबाट २३ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ भने एकल बीमाशुल्क जीवन बीमाबाट ९ अर्ब ८८ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, आजीवन जीवन बीमाबाट ४ अर्ब २७ करोड ३२ लाख रुपैयाँ र अन्य जीवन बीमाबाट ३ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, लघु जीवन बीमाबाट ३ अर्ब ५४ करोड १९ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ र म्यादि जीवन बीमाबाट १ अर्ब ८० करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशबाट ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । उता, लुम्बिनी प्रदेशबाट ३३ अर्ब २२ लाख रुपैयाँ, कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।
त्यस्तै, मधेश प्रदेशबाट १९ करोड १३ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १२ करोड ८१ लाख ९२ हजार रुपैयाँ र कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।


