Banijya News

इन्धनको मूल्य वृद्धि हुँदा हवाई भाडा ८८० रुपैयाँसम्म बढ्यो, कहाँको कति ?

1
1.0K Shares

नेपाल आयल निगमले सोमबार (१८ साउन)देखि लागू हुने गरी प्रतिलिटर हवाई इन्धनको मूल्यमा २० रुपैयाँले बढाएसँगै आन्तरिक वायुसेवा कम्पनीले पनि इन्धन शुल्कवापत हवाई भाडा बढाएका छन् ।

वायुसेवा कम्पनीहरुले इन्धनको शुल्क बढाउँदा यात्रुले हवाई टिकटमा भाडासँगै जोडेर यो शुल्क तिर्नुपर्ने हुन्छ । आयल निगमलाई बुझाउने इन्धनको शुल्क वापतको रकम हवाई टिकटमै जोडिएको हुनाले हरेक पटक आयल निगमले इन्धनको मूल्य समायोजन गर्दा हवाई यात्रुको टिकेटमै उक्त शुल्क बढ्ने र घट्ने गरेको छ ।

वायुसेवा कम्पनीहरुले सोमबारदेखि नै हवाई भाडामा इन्धन शुल्क जोडेर लिँदा यात्रुले बढेकै शुल्क तिर्नुपरेको छ । सम्बन्धित वायुसेवा कम्पनीका अनुसार यस अघि असार १६ गते इन्धनको शुल्क लिटरमै ४० रुपैयाँ घट्दा वायुसेवा कम्पनीहरुले पनि घटाएर सेवा दिएका थिए । साउन १८ देखि इन्धनको मूल्य बढेकोले वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएरै लिन थालेका हुन् ।

यसअनुसार, सबैभन्दा बढी काठमाडौं धनगढी क्षेत्रमा भाडा बढेको छ । यो क्षेत्रमा इन्धनको शुल्क ८८० रुपैयाँले बढेको छ । धनगढी काठमाडौंबाट सबैभन्दा टाढाको आन्तरिक हवाई गन्तव्य हो । काठमाडौंबाट नजिक मानिने गन्तव्य सिमरामा भने १८३ रुपैयाँ मात्रै बढेको छ ।

यसबाहेक काठमाडौैंबाट हुने उडानमा माउन्टेनमा ६८८, भद्रपुर ५६०, विराटनगर ४७८, जनकपुर २५८, भरतपुर २१२, पोखरा ३१४, भैरहवा ४१० रुपैयाँले इन्धन शुल्क बढेको छ । त्यस्तै, नेपालगन्जमा ६५४, तुम्लिङटारमा ३६८, सुर्खेत ६९० र राजविराजमा ४०५ रुपैयाँ बढेको छ । यो काठमाडौैंबाट हुने सुगम क्षेत्रका सहरी विमानस्थलबाहेक अरु सबै गन्तव्यमा पनि इन्धनवापतको शुल्क बढेको छ ।

वायुसेवा कम्पनीले इन्धन शुल्कबाहेक यात्रुबाट संकलन गर्ने कुल टिकटको मूल्यमा भने न्यूनतम वा अधिकतम भाडादर, विमानस्थल सेवा शुल्क र त्यसमा भ्याट जोडेका हुन्छन् । यस्तो शुल्क अनुसार यात्रुबाट आन्तरिक वायुसेवाले उठाउने भाडादर गन्तव्य अनुसार फरक छ ।
यस्तो भाडादर काठमाडौंबाट धनगढीमा ६ देखि १० हजार, भन्द्रपुरमा १७ सय देखि ६९ सयसम्म, विराटनगरमा १३ सय देखि ५५ सयसम्म, नेपालगन्जमा १८ सय देखि ७४ सयसम्म छ ।

त्यस्तै, जनकपुरमा ७ सयदेखि २९ सयसम्म, पोखरामा ९ सयदेखि ३६ सयसम्म, सुर्खेतमा ५१७ देखि २ हजारसम्म, भैरहवामा ११ सयदेखि ४७ सयसम्म, भरतपुरमा ६ सय देखि २६ सयसम्म र सीमरामा ५ सय देखि २ हजारसम्म हवाइ भाडा छ । सुगम गन्तव्यको रुपमा चिनिएका यी विमानस्थलबाट उड्दा यात्रुले विमानस्थल सेवा शुल्कसमेत टिकटमै जोडेर तिर्नुपर्छ ।

1

Scroll to Top