महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्नो नाफा ४८.४६ प्रतिशतले बढाएको छ । बैंकले समीक्षा अवधिसम्म ६२ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अघिल्लो आवमा ४२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु जस्ता कारणले बैंकको नाफा वृद्धिमा सहयोग पुर्याएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी २३ करोड ४ लाख, खुद सञ्चालन आम्दानी २ अर्ब १७ करोड र सञ्चालन मुनाफा ९३ करोड ७९ लाख रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा समेत बढेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यसअघि वितरणयोग्य मुनाफा ४४ करोड ५५ लाख रुपैयाँ रहेको थियो । तर, बैंकको लाभांश क्षमता भने १०.३७ प्रतिशतबाट घटेर १०.३१ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको निष्कृय कर्जा ४.९८ प्रतिशतबाट बढेर ६.३२ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्ज भने ५१ करोड ७३ लाखबाट घटेर ३१ करोड ५६ लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.८८ प्रतिशतबाट बढेर १३.९६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ, तरलता अनुपात २७.३५ प्रतिशत, मूल्य आम्दानी अनुपात २४.७८ गुणा र आरओई ८.६६ प्रतिशत कायम भएको छ ।


