Banijya News

जीवन बीमाको व्यापार बागमतीमा करिब ८७ अर्ब हुँदा अन्य प्रदेशको अवस्था कस्तो ?

1
1.0K Shares

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।८३ मा २ खर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार, १४ वटा जीवन बीमा कम्पनी र तीन वटा लघु जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

ती कम्पनीहरुले सबैभन्दा धेरै बागमती प्रदेशबाट बीमा संकलन गर्न सफल भएका छन् । त्यस्तै, सबैभन्दा कम बीमा शुल्क आर्जन कर्णाली प्रदेशमा भएको तथ्यांकमा उल्लेख छ ।

गत आवमा बागमती प्रदेशबाट कम्पनीहरुले ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । यो कुल व्यापारमध्ये बागमतीको हिस्सा ४२.५० प्रतिशत देखिएको छ ।

यसैगरी, जीवन बीमकहरुले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशमा गर्न सफल भएका छन् । यो प्रदेशबाट कम्पनीहरुले ३३ अर्ब २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा लुम्बिनीको हिस्सा १६.१३ प्रतिशत रहेको छ ।

त्यस्तै, कोशी प्रदेशबाट २५ अर्ब १६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको विवरणमा उल्लेख छ । जीवन बीमकको कुल व्यापारमध्ये कोशीको हिस्सा १२.३० प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीहरुले गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै, मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको कुल व्यापारमा गण्डकीको हिस्सा १०.४१ प्रतिशत, मधेशको ९.३५ प्रतिशत, सुदूरपश्चिमको ६.२७ प्रतिशत र कर्णालीको ३.०४ प्रतिशत मात्र रहेको पाइएको छ ।

1

Scroll to Top