सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयबाट सिफारिस भएको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो ।
अर्थ मन्त्रालयले गत साउन ६ गते पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले करिब १५ दिनपछि स्वीकृत गरेको हो । स्वीकृत नयाँ तलबमानअनुसार सबैभन्दा बढी तलब मुख्य सचिवले पाउनेछन् । मुख्य सचिवको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ । यस्तै, सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ हुनेछ ।
नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिवसरह ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब भने ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।
सरकारले चालु आर्थिक वर्षदेखि लागू हुने गरी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गरेको थियो । कर्मचारीले बढेको तलबमा प्रोत्साहन भत्ताबापत थप १० प्रतिशत रकमसमेत पाउने छन् । यस्तै, मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।
यसैगरी, पेन्सन प्राप्त गर्नेहरूको हकमा पनि १० प्रतिशत वृद्धि लागू हुने व्यवस्था गरिएको छ ।
‘सरकारले साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तिभरण प्रयोजन)को संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रे रकम र वृद्धिपश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने’ नयाँ तलबमान कार्यान्वयनका लागि अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालयमा पठाएको पत्रमा भनिएको छ ।
कसले कति तलब पाउँछन् ?


