पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको तथा ग्यासको आयात र आपूर्ति नियमित रूपमा भइरहेको बताएका बेला वास्तविकता यसको ठिक विपरीत रहेको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइन बस्न बाध्य छन् ।
यो समस्याको सम्बोधनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न अपिल गरेको हो ।
कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।
उपभोक्ताबाट प्राप्त जानकारी र गुनासो गम्भीरतापूर्वक लिइने मन्त्रालयले जनाएको छ । प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने बताइएको छ ।
२० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण मर्कामा छन् । ग्यास डिपोहरूमा लामो लाइन लाग्ने तर रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने बाध्यता छ । यस्तो विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने (कालोबजारी) गरेको गुनासो बढेपछि मन्त्रालयले सिधै सचिवालयमा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
आधा सिलिन्डर ग्यास दिइरहेको आयल निगमले आपूर्ति नै नबढाई भरी सिलिन्डर बेच्न थालेपछि देशभर ग्यास अभाव देखिएको छ । मध्यपूर्वमा तनाव बढेसँगै आपूर्ति जटिल बन्दा आधा सिलिन्डर ग्यास बेच्न थालेको निगमले असार ३१ देखि भरी सिलिन्डर दिन थालेको हो । तर, स्थानीय डिलरमा ग्यास नपाएपछि सयौँ उपभोक्ता टेकुस्थित निगमको अस्थायी वितरण केन्द्र र बालाजुस्थित नेपाल ग्यास उद्योगमा सयौँ रित्ता सिलिन्डर लिएर दिनभर लाइन लाग्न बाध्य छन् ।
गत २८ माघदेखि आधा सिलिन्डर बेच्न थालिएकोमा फागुन र चैतमा ग्यासको चर्को माग थियो । तर, वैशाख र जेठमा माग न्यून थियो । ती दुई महिना औसत ३२ हजार टनका दरले ग्यास आयात भएको निगमको तथ्यांक छ । तर, घर–घरमा रहेका सिलिन्डर खाली हुने बेला पूरा तौल भएको ग्यास बजार पठाउने निर्णय गरेपछि माग ह्वात्तै बढेको निगमको आँकलन छ । अहिले बजारमा क्षणिक माग बढेर ६० हजार टनसम्म पुगेको निगमले अनुमान गरेको छ ।
अहिले पूरा तौलको ग्यास पाउने भएपछि कतिपयले मौज्दात गर्नका लागि सिलिन्डर भरेर राख्ने प्रवृत्ति बढेकाले पनि ग्यासको आपुर्ति असहज बनेको बताइन्छ । त्यसैले, अहिले क्षणिक माग बढेर ५५ देखि ६० हजार टनसम्म पुगेको अनुमान छ । अब आपूर्ति बढाएर सहज बनाउन प्रयास हुने निगमले जनाएको छ ।
केही समयअघि इन्डियन आयल कर्पोरेसन (आईओसी)को हल्दिया र दुर्गापुर दुईवटा रिफाइनरीमा आगलागी भएपछि नेपालले त्यहाँबाट आयात गर्न पाएको छैन । यी दुई रिफाइनरीको कोटा अन्य स्थानबाट उठिरहेको निगमले जनाएको छ । तर, हल्दिया र दुर्गापुरभन्दा टाढा भएकाले त्यहाँबाट ल्याउँदा ढुवानीमा ढिलाइ भएकाले आपूर्ति सहज गर्न कठिनाइ भएको निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्याय बताउँछन् ।
निगमले देशमा र विशेषगरी काठमाडौँ उपत्यकामा एलपी ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज रहेको दाबी गरेको छ । तर, खुद्रा डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगेका सर्वसाधारण भने निगमको दाबी र धरातलीय यथार्थ बीच ठूलो अन्तर रहेको बताउँछन् ।
नेशनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास विक्री–वितरण गर्ने समय तोकिएको छ । मानिसहरू हिलो र घाम–पानी नभनी लाइनमा उभिएका दृश्यहरू देख्न सकिन्छ । निगमका अनुसार नागरिकले हडबडाएर आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न खोज्दा र स्थानीय डिलरहरुले कृत्रिम अभाव सिर्जना गर्दा समस्या देखिएको हो ।
निगमले सामान्य अवस्थाको तुलनामा आयात वृद्धि गरेको दाबी गरेको छ । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार, सामान्य अवस्थामा दैनिक ९३–९५ बुलेट ग्यास आयात हुने गरेकोमा एक सातायता दैनिक औसत १०५ बुलेट आयात भइरहेको छ । उपभोक्ताहरूको अत्तालिने बानीका कारण पनि अहिले ग्यासमा असहज भएको उनी बताउँछन् । त्यसैले, मौज्दात राख्ने उद्देश्यले ग्यास खरिद नगर्न र घरायसी प्रयोजनका वास्तविक उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरिएको छ ।
विगतमा ग्यास अभाव खासगरी काठमाडौं उपत्यका केन्द्रित हुन्थ्यो । अहिले देशैभर भएको छ । आयातभन्दा माग ठुलो अन्तरले बढेका कारण सहज रूपमा वितरण हुन नसकेको बताइन्छ । त्यसो त, यसअघिको आधा सिलिन्डर नीतिका कारण उपभोक्ताको घरमा ठुलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेका थिए । त्यसैले, भरी सिलिन्डर ग्यास बजारमा आउँदा एकैपटक धेरै मात्रामा खाली सिलिन्डर आएर हाहाकारको अवस्था आएको हुन सक्ने ग्यास उद्योगीको अनुमान छ ।
निगमलाई पूर्ण तौलको सिलिन्डर बजार पठाउन उद्योगीले नै निरन्तर दबाब दिएका थिए । धेरैपटक ग्यास ओसार्दा ढुवानी लागत र उद्योगको सञ्चालन खर्च बढेकोलगायत कारण देखाउँदै उद्योगीले जेठदेखि नै पूर्ण तौलको सिलिन्डर बजार पठाउन दबाब दिएका थिए । उद्योगीको निरन्तर दबाबपछि असार ३१ बाट पूर्ण तौलको सिलिन्डर बजार पठाउने निर्णय भएको थियो । लगत्तै बजारमा ग्यास अभाव सुरु भएको हो ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने निगमको व्यवस्थापकीय कमजोरीका कारण उपभोक्ताले दुःख पाएको बताउँछन् । १४.२ किलो ग्यास भएको भरी सिलिन्डर बजारमा ल्याउने निर्णय गर्नुअघि सामान्य अवस्थाभन्दा बढी आयात गरेर सञ्चय गर्ने र नियमित रूपमा बढीभन्दा बढी बुलेटमा ग्यास आयात सुनिश्चित गर्नुपर्ने थियो । तर, यसतर्फ ध्यान नदिई एक्कासि पूर्ण तौलको सिलिन्डर बजारमा ल्याउँदा अहिले उपभोक्ताले दुःख पाएको उनी बताउँछन् ।
यसैगरी, ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले पनि उपभोक्ताको घरका धेरै सिलिन्डर बजार आउँदा समस्या भएको बताए । डिलर प्रमाणीकरण नहुँदा भूमिगत रूपमा ग्यास बिक्री हुने, कुन डिलरले कति ग्यास बिक्री गर्यो भन्ने यकिन तथ्यांक नहुनेलगायत कारण पनि आयात भएको ग्यासको समुचित वितरण नभएको उनको भनाइ छ ।
त्यसैले, निगमले काठमाडौँका डिलरहरूमा ग्यास भए–नभएको र कालोबजारी भएको छ कि छैन भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी बजार अनुगमन गर्नुपर्ने आवश्यकता रहेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ग्यासको अभाव विकराल बन्दै जाँदा सरकारले गुनासो वा उजुरी सुन्न हटलाइन सञ्चालन गर्नुका साथै मोबाइल नम्बरसमेत सार्वजनिक गरेको हो ।


