शेयर बजार आज विहीबार पुनः ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से विहीबार भने घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक घटेको छ ।
यसैगरी, १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । विहीबार व्यापार उपसमूहको परिसूचक ०.५९ प्रतिशत बढेको हो । तर, उत्पादन तथा प्रशोधन उपसमूहको रिसूचक सर्वाधिक ९३.०४ अंक घटेको छ ।
नेप्से घटेपनि विहीबार शेयर कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज विहीबार ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार भएकामध्ये अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । यस दिन मूल्य बढेका बाँकी स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको एलएस होराइजन १२ को इकाईमूल्य सर्वाधिक ६.५० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा विहीबार रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४७ करोड २४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे २६ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।


