Banijya News

२५० रुपैयाँ खर्च गरेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

1
1.0K Shares

शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँबराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका छन् ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार विजेता घोषणा गरिएको हो । उक्त कार्यक्रमको पहिलो घोषणा समारोह सम्पन्न भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बम्पर उपहार खुला गरेका थिए । साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको थियो ।

जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक(एक लाख रुपैयाँ नगद उपहार पाएका छन् । यस्तै, साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा गरिएको थियो ।

आन्तरिक राजस्व विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा प्राप्त गरेको विद्युतीय बिल (ई–बिल) वा अन्य मान्य बिलका आधारमा विभिन्न उपहार जित्ने अवसर पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य वस्तु तथा सेवा खरिद–बिक्रीमा सक्कली बिल लिने–दिने संस्कृतिको विकास, वास्तविक कारोबार अभिलेखीकरण तथा कर अनुपालनलाई प्रोत्साहन गर्नु रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यविधिअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् । विद्युतीय माध्यमबाट गरिएको भुक्तानी स्वतः कार्यक्रममा समावेश हुनेछ भने नगद भुक्तानी गरेका उपभोक्ताले विभागको प्रणालीमा बिल नम्बर, विक्रेताको प्यान, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गरी सहभागी हुन सक्नेछन् ।

यस कार्यक्रममा व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी तथा ढुवानी सेवा, हवाई टिकट तथा प्यान नभएका व्यक्तिबाट जारी भएका बिल भने समावेश हुने छैनन् ।

प्रत्येक दिनका लागि एक जना विजेतालाई १ लाख ३३ हजार ३३४ रुपैयाँ नगद उपहार प्रदान गरिनेछ भने प्रत्येक पाक्षिक अवधिमा छनोट हुने बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपहार रकममा प्रचलित कानूनअनुसार २५ प्रतिशत आकस्मिक लाभकर कट्टी गरिने व्यवस्था गरिएको छ ।

उपहार प्राप्त गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र सक्कल बिल, नागरिकता वा अन्य आधिकारिक परिचयपत्र, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर (प्यान( सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । आवश्यक कागजात प्रमाणीकरणपछि विभागले उपहार रकम सम्बन्धित बैंक खातामा सिधै जम्मा गर्नेछ ।

1

Scroll to Top