भाटभटेनी सुपर स्टोरले आफ्ना स्टोरहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ ।
पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार बुधबारदेखि भक्तपुर २४सै घण्टा खुला गर्ने तयारी गरिएको छ । त्यसो हुँदा केही समयपछि ग्राहकलाई राति १० बजेसम्म सेवा प्रदान गर्न सकिने बताइएको छ ।
अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि २४सै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ ।
भक्तपुरलाई पाइलट प्रोजेक्टका रुपमा बुधबारदेखि २४सै घण्टा खुला राख्ने तयारी गरेको बताउँदै गुरुङले भने, ‘अहिले बिहान खुला भएपछि मात्र सामान राख्ने, कमी भएको ठाउँमा थप गर्ने, मिलाउनेलगायतका व्यवस्थापकीय कामले ग्राहकलाई केही अप्ठेरो परेको महसुस हामीलाई भयो । हामीले अब ती सबै काम रातभरमा सकेर ग्राहकलाई कुनै अप्ठेरो नहुने योजना बनाएका हौँ ।’
उनका अनुसार रातको समयमा काम गर्ने एउटा ‘कोर टिम’ तयार पारिएको छ । जसले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । त्यो उनीहरुका लागि विशेष सुविधा उपलब्ध गराइएको हो ।
भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गत वर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् ।
भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर, पाटनलगायतका स्टोर पनि २४ सै घण्टा खुला गरिनेछ । त्यसपछि पोखरा, बुटवल, नारायणगढलगायतका प्रमुख सहरका स्टोर पनि त्यसैगरी खुला राखिने भाटभटेनीका सञ्चालक गुरुङको भनाइ छ ।


