राजस्व लक्ष्यतर्फ निरन्तर सुधार गरिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व संकलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ ।
उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व जम्मा भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो । सो वर्ष रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन गर्दै कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो ।
यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व जम्मा भएको थियो । जुन लक्ष्य प्राप्तिको ७८.४० प्रतिशत थियो ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा रु १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व जम्मा भएको थियो । त्यस बेला लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत रहेको थियो ।
चार आर्थिक वर्षको तथ्यांकले लक्ष्य प्राप्ति दरमा निरन्तर सुधार भएको देखाएको छ । यस अवधिमा लक्ष्य प्राप्ति ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशत पुगेको छ । वार्षिक लक्ष्यमा केही उतारचढाव भए पनि वास्तविक राजस्व संकलन भने पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको छ ।
विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो । कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहेकामा हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी माङ्कल राईले जानकारी दिनुभयो । अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन् । मेची भन्सारबाट भारत, चीन, बंगलादेश, भुटानलगायत मुलुकमा निकासी पैठारी हुँदै आएको छ ।


