हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । व्यवसायी शेखर गोल्छाको उक्त कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४५% बढी नाफा कमाउन सफल भएको हो ।
हुलास फिनसर्भले प्रकाशन गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तार र नाफामा उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ । अघिल्लो वर्ष कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । एक वर्षमै हुलास फिनसर्भको व्यवसायको आकार एकतिहाईले बढ्दा खुद ब्याज आम्दानी र नाफा दुबै बढेको हो ।
सन् २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले बुक बिल्डिङमार्फत् २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । सेयर निष्काशनका लागि कम्पनीले २ वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ छ ।
कम्पनीका उपभोक्ता फाइनान्सिङ सेवाहरू दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे सवारी, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचरमा उपलब्ध छन् । प्रतिस्पर्धात्मक ब्याजदर र नविनतम किस्ता सुविधाहरूमार्फत ग्राहकहरूको खरिद प्रक्रियालाई सजिलो बनाउने प्रतिबद्धता हुलासले गरेको छ ।
सन् २०१२ मा स्थापित हुलास इन्भेस्टमेन्ट कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भ बनेको थियो भने सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज भएको हो ।
कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर छ भने बाँकी १५ प्रतिशतमा हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्स लगायत ६ जनाको स्वामित्व छ । एचएच एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।
गत आवमा यही कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाखबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ । साथै, कुल कर्जा ८ अर्ब २ करोड ५५ लाखबाट आधा (५२ प्रतिशत)ले बढेर १२ अर्ब २१ करोड ८५ लाख रूपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात घटेर १.८७ प्रतिशतमा झरेको छ । त्यस्तै, नाफामा वृद्धि हुँदा कम्पनीको प्रतिसेयर आम्दानी ४८.०४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ । असार मसान्तसम्म कम्पनीको साधारण जगेडामा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
गत आवमा गरेको करिब ४० करोड नाफामा अघिल्लो आवसम्मको सञ्चित मुनाफा समेत जोड्दा वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ रहेको छ । यसबाट ९३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।


